अर्थ मन्त्रालयले अर्थतन्त्रले गति लिएको निष्कर्ष निकालेको छ। मन्त्रालयले सार्वजनिक गरेको अर्थ बुलेटिनमा बाह्य सूचकहरू सबल र आन्तरिक सूचकहरूमा क्रमिक सुधार देखिएको उल्लेख गर्दै समग्र अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढिरहेको जनाएको छ।
बुलेटिनअनुसार आर्थिक वर्ष २०८१/८२ को फागुनसम्म संघीय सरकारको कुल राजस्व अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.७ प्रतिशतले वृद्धि भई ७ खर्ब २० अर्ब ३५ करोड पुगेको छ। कुल राजस्वमा कर राजस्वको हिस्सा ८८.७ प्रतिशत र गैरकर राजस्वको हिस्सा ११.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
चालु आर्थिक वर्षको पहिलो आठ महिनामा विप्रेषण आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा ९.४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ। अमेरिकी डलरमा समेत विप्रेषण ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७३ करोड ६६ लाख डलर पुगेको उल्लेख गरिएको छ।
वैदेशिक रोजगारमा जाने नयाँ श्रमिकको सङ्ख्या पनि बढेको मन्त्रालयले जनाएको छ। चालु आर्थिक वर्षको फागुनसम्म वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने कामदारको संख्या ११.१ प्रतिशतले वृद्धि भई ३ लाख १७ हजार ६८ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेहरूको संख्या १८.९ प्रतिशतले बढेर २ लाख १७ हजार ४०३ पुगेको छ।
विदेशी विनिमय सञ्चिति पनि उल्लेख्य रूपमा बढेको देखिएको छ। फागुन मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति अघिल्लो वर्षको असार मसान्तको तुलनामा १८ प्रतिशतले वृद्धि भई २४ खर्ब ९ अर्ब २५ करोड पुगेको छ। अमेरिकी डलरमा सञ्चिति १३.१ प्रतिशतले वृद्धि भई १७ अर्ब २७ करोड पुगेको मन्त्रालयले जनाएको छ।
आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनाको आयातलाई आधार मान्दा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको विदेशी विनिमय सञ्चितिले १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने अवस्था देखिएको छ।
यस्तै, मन्त्रालयले पूँजीगत खर्चमा सुधार, करको दायरा विस्तार, वैदेशिक सहायता प्रतिबद्धता, नेप्से सूचकाङ्क, निर्यात र आयातमा पनि वृद्धि देखिएको उल्लेख गरेको छ।
















प्रतिकृया