लोडसेडिङ हुने हल्ला फैलाउन केही व्यक्ति नियोजित रूपमै लागि परेका छन्: ऊर्जा मन्त्री

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १२ गते
लोडसेडिङ हुने हल्ला फैलाउन केही व्यक्ति नियोजित रूपमै लागि परेका छन्: ऊर्जा मन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अहिलेको अवस्थामा देशमा लोडसेडिङ हुने सम्भावना नरहेको स्पष्ट पारेका छन्। आइतबार कुलेश्वरस्थित कालीमाटी नो–लाइट शाखाको स्थलगत निरीक्षण गर्दै उनले “लोडसेडिङ हुने हल्ला केही व्यक्तिहरूले नियोजित रूपमा फैलाएको” आरोप लगाउँदै त्यसप्रति सतर्क रहन आम नागरिकलाई आग्रह गरे।

निरीक्षणका क्रममा मन्त्री खड्काले नो–लाइट शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत् आपूर्तिसम्बन्धी समस्या, उपभोक्ताका गुनासा र सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिएका थिए।

‘केही समूह वा व्यक्तिहरूले नियोजित रूपमा बजारमा हल्ला फैलाइरहेका छन्, त्यस्ता भ्रामक प्रचारको पछि नलाग्न आम जनसमुदायलाई अनुरोध गर्दछु,’ उनले भने।

मन्त्री खड्काले हाल देखिने अस्थायी समस्या असामान्य मौसम, हावाहुरी वा चट्याङका कारण हुनसक्ने जनाउँदै, यस्ता समस्या चाँडै समाधान भइरहेको दाबी गरे।

उनले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूलाई उपभोक्ताप्रति जिम्मेवार र जवाफदेही भएर काम गर्न निर्देशन दिँदै, बजारमा फैलिएका अपुष्ट र असत्य प्रचारले आम नागरिकमा भ्रम सिर्जना गर्ने भएकाले त्यस्तो हल्लाप्रति सतर्क रहन आग्रह गरे।

सरकारले लोडसेडिङ पुनरावृत्ति हुन नदिन प्रणाली सुदृढीकरण, आपूर्ति निरन्तरता र गुनासो व्यवस्थापनमा कडाइ गर्ने नीति अपनाएको ऊर्जा मन्त्री खड्काले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स