रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन्।
सूर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने, ८४ दिन हिरासतमा बसेपछि गत बिहीवार साँझ ६५ लाख धरौटी बुझाएर रिहा भएका थिए।
हाल उनी कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी अर्को मुद्दामा प्रतिवादी बनेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दर्ता गर्न सुझाव दिएको थियो।
पछिल्लो अवस्थाः किन ढिलो?
शुक्रबार अदालतमा हाजिर हुने भनिए पनि लामिछाने समय अभावका कारण उपस्थित हुन सकेनन्। कास्की प्रहरी हिरासतबाट रिहा भएर शुक्रबार साँझ अबेर मात्रै काठमाडौं आइपुगेका कारण उनी अदालतमा उपस्थित हुन नसकेको उनकी श्रीमती निकिता पौडेलले बताएकी छन्। पौडेलले भनिन्, “आइतबार उहाँ स्वयं जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनुहुनेछ।”
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना भएको आरोप लामिछानेसहित अन्य व्यक्तिहरूमाथि लगाइएको छ।
लामिछानेविरुद्धको कानूनी प्रक्रिया अब अगाडि बढ्ने छ, र अदालतको निर्णयले आगामी दिनमा प्रकरणको दिशा तय गर्नेछ।