रसुवागढी भन्सारले समय सीमा तोक्यो, अब बेलुका ७ बजेपछि कुनैपनि गाडी बाहिरिन नपाउने

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १७ गते
रसुवागढी भन्सारले समय सीमा तोक्यो, अब बेलुका ७ बजेपछि कुनैपनि गाडी बाहिरिन नपाउने

रसुवागढी भन्सार कार्यालयले भन्सार जाँचपास भई बाहिरिने मालवाहक सवारी साधन र नयाँ गाडीका लागि समय सीमा तोकेको छ। मंसिर १५ गते जारी गरिएको सूचनामा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म मात्र भन्सार पार गर्न पाउने व्यवस्था गरिएको छ। यो समयसीमाभन्दा बाहिर कुनै पनि सवारी साधनले भन्सार छोड्न पाउने छैन।

भन्सार कार्यालयका अनुसार पर्याप्त पूर्वाधार, कर्मचारी र भन्सार स्पेसको अभावका कारण समय सीमा तोकिएको हो। अबेरसम्म भन्सार खुला राख्दा चोरी र मिसम्याचको जोखिम हुने भएकाले यस्तो निर्णय गरिएको हो। यसअघि भन्सार जाँचपासका लागि कुनै समय सीमा तोकिएको थिएन।

रसुवागढी भन्सार चिनियाँ सवारी आयातको प्रमुख नाका हो। हाल करिब २०० विद्युतीय सवारी (ईभी) भन्सार जाँचपासको प्रतीक्षामा रहेका छन्। पर्याप्त भन्सार स्पेस नभएकाले व्यवसायीहरुले निजी जग्गा भाडामा लिएर गाडी पार्किङ गर्नुपरेको छ।

भन्सार व्यवस्थापनलाई सहज बनाउन निर्माणाधीन टिमुरे सुख्खा बन्दरगाहको निर्माण कार्य ६५ प्रतिशत पूरा भइसकेको छ। निर्माण समितिका अनुसार बन्दरगाह आगामी जेठ मसान्तसम्म सञ्चालनमा आउने लक्ष्य छ।

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म रसुवागढी भन्सार कार्यालयमार्फत २१ अर्ब ९१ करोड ६५ लाख रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ। यसबाट ८ अर्ब ३५ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन लक्ष्यको ८५ प्रतिशत हो। कात्तिक मसान्तसम्मका लागि ९ अर्ब ८१ करोड राजस्व संकलनको लक्ष्य राखिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स