जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई संसद् तथा सार्वजनिक मञ्चमार्फत नियमित रूपमा नागरिकसँग संवाद गर्न आग्रह गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्रीले संसद्को पहिलो अधिवेशनदेखि अहिलेसम्म पनि सम्बोधन नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेकी हुन्।
बमका अनुसार निर्वाचित नेतृत्वले जनतालाई धन्यवाद दिने, देशको अवस्थाबारे स्पष्ट धारणा राख्ने र आवश्यक परे मनोवैज्ञानिक रूपमा समेत साथ दिने जिम्मेवारी पूरा गर्नुपर्छ। उनले ‘कुरा कम, काम बढी’ भन्ने व्यक्तिगत शैली भए पनि लोकतान्त्रिक व्यवस्थामा जनतासँग संवाद अनिवार्य रहेको बताएकी छन्।
उनले प्रधानमन्त्री शाहलाई जनताको आवाज सुन्न र समसामयिक विषयमा खुला रूपमा बोल्नुपर्नेमा जोड दिँदै नेतृत्व केवल प्राविधिक समाधानमा सीमित नभई नागरिकलाई भावनात्मक र मनोवैज्ञानिक रूपमा समेत भरोसा दिन सक्नुपर्ने उल्लेख गरेकी छन्।
बमले प्रधानमन्त्रीलाई आफ्नो भूमिकाप्रति सचेत रहन आग्रह गर्दै शक्ति सीमित हुन्छ भन्ने कुरा नबिर्सन चेतावनीसमेत दिएकी छन्।


प्रतिकृया