पाथीभरा केबलकार विवाद: सरकार र स्थानीय संघर्ष समितिबीच ६ बुँदे सहमति, यातायात बन्द फिर्ता
ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबलकारलाई लिएर उत्पन्न विवाद समाधान गर्न सरकार र स्थानीय संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ।
सोमबार र मंगलबार लगातार भएको वार्तापछि उक्त सहमति बनेको हो। सहमतिअनुसार केबलकारको स्टेसन माथिको निर्माण कार्य तत्कालका लागि स्थगित हुनेछ भने सो सम्बन्धमा विस्तृत छलफल गर्न माघ २७ गते अर्को वार्ता गरिनेछ।
६ बुँदे सहमति:
- केबलकार स्टेसन माथिको निर्माण कार्य स्थगित गर्दै सो सम्बन्धमा आगामी वार्तामा विस्तृत छलफल गरिनेछ।
- आन्दोलनका क्रममा घाइते भएकाहरूको नि:शुल्क र प्रभावकारी उपचारको जिम्मा सरकारले लिनेछ।
- माघ १२ गतेको घटनाको छानबिन गरी कानुनी कारबाही गरिनेछ।
- आन्दोलनका क्रममा थुनामा परेकाहरूलाई बिनासर्त तत्काल रिहा गरिनेछ।
- मुक्कुम्लुङ संरक्षक पक्षले अनिश्चितकालीन यातायात बन्द स्थगित गर्नेछ।
- केबलकार निर्माणमा रहेका असहमतिहरूबारे विस्तृत छलफल गर्न माघ २७ गते बिहान ११ बजे अर्को वार्ता गरिनेछ।
यस सहमतिसँगै कोशी प्रदेशका ९ जिल्लामा माघ १५ देखि जारी यातायात बन्द फिर्ता लिइएको छ।
ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको कम्पनीले केबलकार निर्माण गरिरहेको छ। यसविरुद्ध मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान संघ, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) लगायतका संघसंस्थाहरूले विरोध गर्दै आएका छन्।
सरकारले विवाद समाधान गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो। सहमतिअनुसार अब विवाद समाधानका लागि थप छलफल गरिनेछ।