चालु आर्थिक वर्ष २०८१/८२ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको छ। राष्ट्र बैंकका अनुसार समीक्षाको मस्यौदा तयार भइसकेको छ। राष्ट्र बैंकले आज साँझ पाँच बजे सञ्चालक समितिको बैठक बोलाएको छ, जसले समीक्षालाई स्वीकृति दिएपछि सार्वजनिक गरिनेछ।
राष्ट्र बैंक मौद्रिक नीति तर्जुमा कार्यविधि २०७३ अनुसार, त्रैमासिक र अर्धवार्षिक समीक्षा प्रत्येक त्रैमास समाप्त भएको ४५ दिनभित्र सार्वजनिक गर्नुपर्ने प्रावधान छ। त्यसअनुसार फागुन १५ भित्र समीक्षालाई अन्तिम रूप दिनुपर्ने हुन्छ।
गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २५ मा समाप्त हुँदैछ र यो समीक्षा उनको कार्यकालको अन्तिम हुने भएकाले यसले विशेष महत्व राखेको छ। अघिल्लो वर्ष तुलनात्मक रूपमा लचिलो मौद्रिक नीति अपनाइएकाले यसपटक नीतिगत परिवर्तनको सम्भावना कम रहेको जानकारहरू बताउँछन्।
हाल बैंक तथा वित्तीय संस्थामा तरलता अधिक छ, ब्याजदर न्यून अवस्थामा छ, र केन्द्रीय बैंकले नीतिगत दरहरू घटाइसकेको छ। समीक्षाबाट वित्तीय संस्थाहरूका लागि केही नीतिगत व्यवस्था खुकुलो हुने अनुमान गरिएको छ तर नेपाललाई ग्रे लिस्टबाट हटाउने सर्तअनुसार वित्तीय प्रणालीमा कडाइ गर्नुपर्ने दायित्व पनि रहेको छ।




















प्रतिकृया