आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता कडा पारिने भएको छ। बिहीबार विराटनगरमा बसेको दुईदेशीय सुरक्षा बैठकले मतदानअघि ७२ घण्टा सीमा नाका पूर्ण रूपमा बन्द गर्ने सहमति गरेको हो।
निर्णयअनुसार कोशी प्रदेश अन्तर्गतका झापा जिल्ला, मोरङ जिल्ला र सुनसरी जिल्ला सँग सीमा जोडिएका भारतका किशनगञ्ज जिल्ला, अररिया जिल्ला र सुपौल जिल्ला का सुरक्षा अधिकारीबीचको संयुक्त छलफलपछि यस्तो निर्णय गरिएको हो।
सहमति अनुसार फागुन १८ गते रातिदेखि फागुन २१ गते रातिसम्म सीमा नाका बन्द रहनेछन्। उक्त अवधिमा अत्यावश्यक सेवाबाहेक सबै प्रकारका आवागमन निषेध गरिनेछ। प्रशासनले निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न यस्तो कदम आवश्यक भएको जनाएको छ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार निर्वाचन प्रचारका क्रममा भारतीय नम्बर प्लेटका सवारी साधनको अनियन्त्रित प्रवेश रोक्न भारतीय सुरक्षा निकायसँग सहयोग मागिएको छ।
बैठकले सीमा क्षेत्रमा संयुक्त गस्ती बढाउने, तेस्रो मुलुकका नागरिकको अनधिकृत प्रवेश नियन्त्रण गर्ने तथा लागुऔषध ओसारपसार, मानव बेचबिखन, नक्कली मुद्रा कारोबार, हातहतियार र अवैध नगद तस्करी विरुद्ध कडाइ गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
















प्रतिकृया