जीवन विकास लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभाले युनिक नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थासँग हुने मर्जर प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।
मोरङको कटहरीस्थित केन्द्रीय कार्यालयमा सम्पन्न विशेष साधारणसभाले सञ्चालक समितिका अध्यक्ष विक्रमराज सुवेदीद्वारा प्रस्तुत मर्जरसम्बन्धी विशेष प्रस्ताव अनुमोदन गरेको हो। तीन संस्थाबीच गत चैत २८ गते मर्जर सम्झौता भएको थियो।
सभाले मर्जरपछि पनि संस्थाको नाम ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ नै कायम रहने तथा केन्द्रीय कार्यालय मोरङको कटहरी गाउँपालिका–२ मा रहने प्रस्ताव पारित गरेको छ। युनिक नेपाल र मानुषी लघुवित्तका हालका केन्द्रीय कार्यालयलाई भने प्रादेशिक कार्यालयका रूपमा रूपान्तरण गरिनेछ।
मर्जरपश्चात् संस्थाको नेतृत्व हालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) संजयकुमार मण्डलले गर्ने प्रस्तावलाई पनि साधारणसभाले अनुमोदन गरेको छ। साथै, मर्जर प्रक्रियासम्बन्धी सञ्चालक समितिको प्रतिवेदन र हालसम्म भएका सम्पूर्ण कामकारबाहीलाई समेत स्वीकृति प्रदान गरिएको छ।
साधारणसभाले आवश्यकताअनुसार भविष्यमा अन्य लघुवित्त संस्थासँग मर्जर वा प्राप्ति (एक्विजिसन) प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार दिने निर्णयसमेत गरेको छ।
हाल जीवन विकास लघुवित्तको चुक्ता पुँजी १ अर्ब ७५ करोड १२ लाख ३२ हजार रुपैयाँ, युनिक नेपालको १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ र मानुषी लघुवित्तको १० करोड ९३ लाख ९७ हजार रुपैयाँ रहेको छ। मर्जरपछि एकीकृत संस्थाको चुक्ता पुँजी १ अर्ब ९८ करोड ८४ लाख ४ हजार ३१२ रुपैयाँ पुग्नेछ।
एकीकृत कारोबार सुरु भएपछि संस्थाको कार्यक्षेत्र कर्णाली प्रदेशबाहेक देशभर विस्तार हुनेछ। मर्जरपश्चात् संस्थाको शाखा सञ्जाल ६ प्रदेशमा फैलिनेछ भने कुल शाखा संख्या २३३ पुग्नेछ। हाल जीवन विकासले ३१ जिल्ला, युनिक नेपालले १० जिल्ला र मानुषी लघुवित्तले १४ जिल्लामा वित्तीय सेवा प्रदान गर्दै आएका छन्।

प्रतिकृया