काठमाडौँ महानगरपालिकाले “सीप मेला २०८२” का लागि आवेदन खुला गरेको छ। यही जेठ ७ गतेदेखि सुरु हुने मेलामा १० वटा क्षेत्रसँग सम्बन्धित ३४ विभिन्न विधामा निःशुल्क सीप विकास तालिम सञ्चालन गरिनेछ। सरकारी, गैरसरकारी, निजी तथा दातृ निकायहरूसँगको सहकार्यमा तालिम प्रदान गरिनेछ। यस वर्ष २०८२ जनालाई सीप विकास तालिम दिने लक्ष्य महानगरपालिकाले लिएको छ।
तालिमका लागि काठमाडौँ महानगरभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने व्यक्ति, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति तथा सडकपेटिमा व्यापार व्यवसाय गर्दै आएका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ। सहभागीको उमेर १८ वर्षदेखि ५८ वर्षसम्मको नेपाली नागरिक हुनुपर्नेछ। तालिमको अवधि ३० दिनको हुनेछ, जसमा दैनिक ६ कक्षा सञ्चालन गरी कुल १०० घण्टाको तालिम दिइनेछ।
तालिमका क्षेत्रहरूमा आइसिटी, स्पेशल एविलिटी सपोर्ट स्किल, इलेक्ट्रिक्स, गार्मेन्ट, कन्स्ट्रक्सन, हस्पिटालिटी, अटोमोबाइल्स, आर्ट एण्ड स्कल्प्चर, ज्योतिष तथा पुरोहित, कृषि र सौन्दर्य सेवासम्बन्धी विषयहरू समेटिएका छन्। आइसिटी क्षेत्रमा डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अप्टिक्स टेक्निसियन, तथा एआई र यसको प्रयोग सम्बन्धी तालिम समावेश गरिएको छ। त्यस्तै स्पेशल एविलिटी सपोर्ट स्किल अन्तर्गत पीडब्लुडी लक्षित हाउसकिपिङ र केयर सर्भिस तालिम हुनेछन्। इलेक्ट्रिक्स क्षेत्रमा ल्यापटप, मोबाइल, सिसिटिभी, एसी/रेफ्रिजेरेटर मर्मतसम्बन्धी तालिम, गार्मेन्टमा फेब्रिकेटर र फेसन डिजाइनिङ, कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ, मेसन, वेल्डिङ र कार्पेन्ट्री, हस्पिटालिटीमा बारिस्ता, वेटर, फास्ट फुड र बेकरी, अटोमोबाइल्समा इलेक्ट्रिक र इन्धनयुक्त सवारी मर्मत तालिम समावेश छन्।
साथै, थाङ्का चित्रकला, टेराकोटा, ज्योतिष, पुरोहित तालिम, फूल सजावट, सौन्दर्यकर्मी, मेकअप र हेयर, नेल टेक्निसियन, कपाल काट्ने र स्टक मार्केट तालिमहरू पनि प्रदान गरिनेछन्।
तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरुले https://kmc.seepmela.com/ मा गई खुल्ने पृष्ठमा आवश्यक विवरणहरू भरी आवेदन पेश गर्नुपर्नेछ। आवेदन दिने अन्तिम म्याद जेठ ५ गतेसम्म तोकिएको छ।





















प्रतिकृया