आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा चुनावी सरगर्मी बढेको छ।
राष्ट्रिय राजनीतिमा परिचित नेताहरुको जिल्लामा पर्छ कञ्चनपुर। यहाँको निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीबाट पूर्वमन्त्री बीना मगर उम्मेदवारका रुपमा चुनावी मैदानमा छन्। पारिवारिक कारणले पनि परिचित बीना निर्वाचन क्षेत्र नं १ मा २०७९ सालको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार तारा लामा तामाङसँग पराजित भएकी थिइन्। नेकपा एमालेले यस क्षेत्रबाट पुनः तामाङलाई उम्मेदवार बनाएको छ। २०७९ सालको निर्वाचनमा सुदूरपश्चिमबाट बैतडी र कञ्चनपुर–१ मा मात्रै एमालेले चुनाव जितेको थियो।
नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार बीना २०७४ सालको जित फर्काउने रणनीतिअनुसार चुनावी मैदानमा छिन्।
क्षेत्र नं १ मा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीचको मुख्य प्रतिस्पर्धामा नेपाली कांग्रेसका उम्मेदवार गोपीप्रसाद उपाध्याय पहिलोपटक चुनावी मैदानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि पहिलोपटक जनकसिंह धामी मैदानमा छन्। स्वतन्त्रसहित १९ जना उम्मेदवार रहेको क्षेत्र नं १ मा प्रमुख तीन राजनीतिक दलबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा पनि चुनावी भिडन्त रोचक हुँदैछ। नेपाली कांग्रेसबाट पूर्वमन्त्री नारायणप्रकाश साउँद चुनावी मैदानमा छन्। लगातार यहाँबाट चुनाव लड्दै आएका साउँद २०७९ सालको निर्वाचनमा विजयी भएका थिए। उनले नेकपा (एमाले) का उम्मेदवार नरबहादुर धामीलाई पराजित गरेका थिए। २०७४ सालको निर्वाचनमा एमालेका धामीले साउँदलाई पराजित गर्दै यहाँबाट निर्वाचित भएका थिए। यस पटक एमालेबाट यहाँ युवानेता बचनबहादुर सिंह चुनावी मैदानमा छन्।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराले पनि यही क्षेत्र रोजेर पहिलोपटक चुनावी मैदानमा सक्रियता बढाएका छन्। नेपाली कम्युनिष्ट पार्टीले युवा नेता माधव पन्तलाई उम्मेदवार बनाएको छ। माधवको पनि प्रतिनिधिसभाको पहिलो चुनाव हो।
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर पर्ने निर्वाचन क्षेत्र नं ३ आसन्न निर्वाचनको चर्चाको केन्द्रमा छ। नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई पार्टीले उम्मेदवार हुनबाट वञ्चित गरेपछि यहाँको चुनावी माहोल अझ रोचक देखिएको छ। पार्टी सङ्गठनको हिसाबले कञ्चनपुर क्षेत्र नं ३ नेपाली कांग्रेसको बलियो क्षेत्र मानिन्छ। यही क्षेत्रबाट पटक–पटक नेता लेखक विजयी भएका थिए। तर हाल कांग्रेसभित्रको आन्तरिक कलह र विवादका कारण यहाँबाट कांग्रेसका पूर्वजिल्ला सभापति हरिप्रसाद बोहराले टिकट पाएका छन्। निर्वाचनमा बाजी मार्न भने धेरै मेहनत गर्नुपर्ने स्थानीयको अनुमान छ।
पहिलोपटक प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेका बोहराले कांग्रेसको विरासत निर्वाचन जितेर जोगाउने चुनौती पाएका छन्। उता नेकपा (एमाले) ले यहाँबाट पूर्वसांसद डा. दीपकप्रकाश भट्टलाई चुनावी मैदानमा उतारेका छन्। भट्टले २०७४ सालको निर्वाचनमा कांग्रेस नेता रमेश लेखकलाई पराजित गरेका थिए। २०७९ सालमा कांग्रेस नेता लेखकले यहाँ एमाले नेत्री नीरुदेवी पाललाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका थिए।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका नेता मानबहादुर सुनार पनि यहाँ बलियो पकड भएका नेताका रुपमा चिनिएका छन्। प्रदेशसभा सदस्य भइसकेका सुनारको आधार क्षेत्र महाकाली नदी पारिको दोधारा चाँदनी मानिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ज्ञानेन्द्र महतालाई चुनावी मैदानमा उतारेको छ। यस क्षेत्रमा नेपाली कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सचिव भीमराज भट्टले तीन वटै निर्वाचन क्षेत्रमा चुनाव प्रचार–प्रसार समिति गठन गरेर चुनावी मैदानमा होमिएको जानकारी दिएका छन्। “९२ वटै वडामा सम्पर्क कार्यालय खोल्ने तयारी पनि छ,” सचिव भट्टले भने, “विभिन्न तहमा बैठक बसेर पार्टीलाई सक्रिय बनाउने काम भइरहेको छ।”
त्यसैगरी नेकपा (एमाले) का सचिव पल्लभराज भट्टले विभिन्न तहमा पार्टीको चुनाव केन्द्रित बैठकहरु सञ्चालन भइरहेको जानकारी दिए। “पार्टीको केन्द्रको घोषणा पत्र आएपछि स्थानीय एजेन्डा थपेर जिल्लामा पनि घोषणा पत्र बनाउने छौँ,” उनले भने, “हामी आसन्न निर्वाचनको व्यापक आन्तरिक तयारीमा जुटेका छौँ।”
















प्रतिकृया