यसरी बनाइदिन्छन् तपाईको बैंक अकाउन्ट क्षणभरमै रित्तो, जोगिन सिआइबीको अनुरोध
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पछिल्लो समयमा सामाजिक सञ्जाल र अनलाइन माध्यममार्फत ठगीका घटनामा वृद्धि भएको भन्दै सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन अपिल गरेको छ। सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार हालै पोखरामा रु ५७ लाख, चितवनमा रु १६ लाख, नेपाल सरकारका कर्मचारीहरूको रु ५.५ लाख, र विभिन्न कम्पनी तथा सर्वसाधारणका करोडौँ रुपैयाँ ठगी भएको छ, जसमा अनुसन्धान भइरहेको छ। ठगीका यी घटनामा सामाजिक सञ्जालजस्तै फेसबुक, इन्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, म्यासेन्जर, भाइबर र इमोलगायतबाट अपरिचित नम्बरहरूमार्फत फोन वा म्यासेज गरी लोभ देखाएर व्यक्तिहरूलाई प्रलोभनमा पार्ने प्रवृत्ति बढेको छ।
यसरी ठगी गर्नेहरूले इसेवा, खल्तीजस्ता डिजिटल वालेट र बैंकका नाम तथा लोगोको दुरुपयोग गरी आफूलाई सेवा प्रदायक कम्पनीका कर्मचारी भएको भन्दै ग्राहकलाई समस्या समाधानको बहानामा ओटिपी माग्ने र क्षणभरमै रकम हिनामिना गर्ने गरेका छन्। यस्तै, विभिन्न लिङ्क पठाई त्यहाँ क्लिक गर्न लगाएर युजरनेम र पासवर्डमा पहुँच पुर्याउने, सामान डेलिभर गर्ने बहानामा अग्रिम रकम लिई सम्पर्कविहीन हुनेजस्ता घटनाहरू पनि बढिरहेका छन्।
सिआइबीले यस्ता घटनाबाट बच्न अपरिचित नम्बरका फोन वा म्यासेजमा प्रतिक्रिया नदिन, समस्या आएमा सम्बन्धित संस्थाको आधिकारिक नम्बरमा मात्र सम्पर्क गर्न, र कुनै शंका लागेमा सिआइबी वा नजिकको प्रहरी कार्यालयलाई तुरुन्त जानकारी गराउन आग्रह गरेको छ। ठगी रोक्न नागरिकहरू आफैं सतर्क रहनुपर्ने आवश्यकता रहेको सिआइबीले जनाएको छ।