राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता नियन्त्रण गर्न आज (आइतबार) ४५ अर्ब रुपैयाँ बराबरको दीर्घकालीन निक्षेप संकलन गर्न लागेको छ। निक्षेप संकलन ‘बोलकबोल’ प्रणालीमार्फत गरिनेछ। हाल बैंकिङ प्रणालीमा कुल निक्षेप ७० खर्ब रुपैयाँभन्दा बढी पुगेको छ।
ब्याजदर व्यवस्थापन र तरलता सन्तुलनका लागि राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। विशेषगरी, केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार, दीर्घकालीन तरलता अवस्थाको व्यवस्थापन गर्न संरचनात्मक खुला बजार कारोबार अन्तर्गत अधिकतम ६ महिनासम्मको अवधि भएको निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिन्छ। यही व्यवस्था अनुसार राष्ट्र बैंकले पटक–पटक निक्षेप संकलन गर्दै आएको हो।
आजको बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाहरूले बोलकबोलमार्फत ब्याजदर प्रस्ताव गर्नेछन्, र सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थाहरूलाई प्राथमिकतामा राखी रकम बाँडफाँट गरिनेछ।
बोलकबोल प्रक्रिया अनलाइन खरिद प्रणालीमार्फत हुनेछ। आज संकलन गरिने निक्षेपको सावाँ तथा ब्याज २०८२ भदौ १ गते भुक्तानी गरिनेछ। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोडको गुणकमा रकम प्रस्ताव गर्न सकिने छ, र कुल ४५ अर्ब रुपैयाँसम्मको निक्षेप संकलन गरिने राष्ट्र बैंकले जनाएको छ।















प्रतिकृया