ईभीको वृद्धि प्रभावहीन? पेट्रोलियम पदार्थको आयात अझै बढ्दै

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १० गते
ईभीको वृद्धि प्रभावहीन? पेट्रोलियम पदार्थको आयात अझै बढ्दै

विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गए पनि नेपालमा पेट्रोलियम पदार्थको खपत घट्न सकेको छैन। चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि फागुनसम्मको तथ्यांकअनुसार पेट्रोलियम पदार्थको आयात अझै वृद्धि भएको देखिन्छ। चालु आवको पहिलो आठ महिनामा मात्र ८ लाख ७१ हजार ३९९ किलोलिटर डिजेल आयात भएको छ, जसका लागि नेपालले ७८ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ। यसै अवधिमा सरकारले डिजेलबाट ३४ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा ८ लाख ४३ हजार १७० किलोलिटर डिजेल आयात भएको थियो।

यता पेट्रोल आयातमा पनि वृद्धि भएको देखिन्छ। गत वर्ष फागुनसम्म ४ लाख ५० हजार ५१ किलोलिटर पेट्रोल आयात भएको थियो भने यो वर्ष सोही अवधिमा ४ लाख ८९ हजार ८४२ किलोलिटर पुगेको छ। पेट्रोलको आयातमा यस वर्ष ४२ अर्ब ८० करोड रुपैयाँ खर्च भएको छ, जसबाट सरकारले २७ अर्ब ८१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

एलपी ग्यासको खपत घटाउन सरकारले विद्युतीय चुलोलाई प्रवर्द्धन गरे पनि त्यसको प्रभाव खासै देखिएको छैन। गत वर्ष फागुनसम्म ३४ करोड ७२ लाख ३८ हजार किलो एलपी ग्यास आयात भएको थियो, जबकि यो वर्ष सोही अवधिमा ३६ करोड २० लाख ९५ हजार किलो ग्यास भित्रिएको छ। ग्यास आयातका लागि नेपालले ४१ अर्ब रुपैयाँ खर्च गरेको छ, भने सरकारले ७ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

अन्य पेट्रोलियम पदार्थको आयातमा पनि वृद्धि भएको छ। हवाई इन्धन (एटीएफ) आयात गत वर्ष फागुनसम्म १ लाख २७ हजार ४७८ किलोलिटर मात्र भए पनि यो वर्ष १ लाख ३९ हजार १५३ किलोलिटर पुगेको छ। त्यसैगरी, मट्टीतेलको आयात गत वर्ष ७ हजार ११२ किलोलिटर रहेकामा यो वर्ष ८ हजार २८४ किलोलिटर पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स