ट्रम्पको विधेयकविरुद्ध एलन मस्क आक्रामक, नयाँ पार्टी खोल्ने चेतावनी

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १७ गते
ट्रम्पको विधेयकविरुद्ध एलन मस्क आक्रामक, नयाँ पार्टी खोल्ने चेतावनी

टेस्लाका प्रमुख कार्यकारी र विश्वप्रसिद्ध अर्बपति एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ खर्च विधेयकको कडा आलोचना गर्दै ‘अमेरिका पार्टी’ नामक नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन् कि यदि डोनाल्ड ट्रम्पको ‘वान बिग, ब्युटिफुल बिल’ अमेरिकी संसदबाट पारित भयो भने आफूले भोलिपल्टै नयाँ राजनीतिक दलको घोषणा गर्नेछन्। मस्कले यो विधेयकलाई ऋण र दासत्वको विधेयकको संज्ञा दिएका छन् र यसले अमेरिकाको आर्थिक स्थायित्वमा गम्भीर असर पार्ने चेतावनी दिएका छन्।

विधेयकमा कर कटौतीको दायरालाई विस्तार गर्ने, सेनाको बजेट बढाउने र अवैध आप्रवासीहरूलाई निष्कासन गर्न व्यापक खर्च गर्ने प्रावधान छ। तर मस्कले यसलाई सरकारी खर्च वृद्धिको वाहियात योजना भनेका छन् र यसको विरोधमा अब एउटा नयाँ राजनीतिक विकल्प आवश्यक भएको बताएका छन्।

उनका अनुसार यो विधेयक पारित भएमा देशको कुल ऋण ३.३ ट्रिलियन डलरले बढ्नेछ र त्यसलाई सम्हाल्न शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा बजेट कटौती गर्नुपर्ने हुन्छ। यही कारणले उनले अब डेमोक्रेट र रिपब्लिकन दुबै दलको विकल्पको रूपमा नयाँ राजनीतिक दल आवश्यक भएको बताएका हुन्।

मस्क र ट्रम्पबीच पहिले निकट सम्बन्ध थियो। ट्रम्पको चुनावी अभियानमा मस्कले साथ दिएका थिए र चुनाव जितेपछि उनलाई प्रशासनको दक्षता विभागको नेतृत्वमा ल्याउने तयारीसमेत भएको थियो। तर केही महिनायता उनीहरूबीचको सम्बन्धमा चिसोपना आएको छ र यो विधेयकलाई लिएरको विवाद सार्वजनिकरूपमै विस्फोट भएको छ।

यसैबीच अमेरिकी सिनेटले जुलाई ४ भित्र यो विधेयक पारित गर्ने तयारी गरिरहेको छ। ट्रम्पले यो विधेयकमार्फत २०१७ मा लागू गरिएको कर कटौती नीतिलाई अझ विस्तार गर्ने लक्ष्य लिएका छन्। तर एलन मस्कजस्ता प्रभावशाली व्यवसायीहरूको कडा विरोधले यो विधेयक र ट्रम्पको नीति दुवैलाई गम्भीर चुनौती खडा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स