बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण, कसले कति पाउने?

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २ गते
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण, कसले कति पाउने?

बूढीगण्डकी जलविद्युत् आयोजनाका कारण प्रभावित गोरखाको चुमनुब्री गाउँपालिकाका बासिन्दाका लागि मुआब्जा निर्धारण गरिएको छ। यसका लागि स्थानीय जनप्रतिनिधि, प्रवर्द्धन कम्पनी साहस ऊर्जाका प्रतिनिधि तथा स्थानीय बासिन्दाको सहभागितामा छलफल गरेर निर्णय गरिएको हो। साहस ऊर्जा कम्पनीका प्रबन्ध निर्देशक हिम पाठकका अनुसार बाँध निर्माणस्थल रहेको वडा नं. ३ को सल्लेरीका बस्ती क्षेत्रका जग्गाको प्रतिआना तीन लाख रुपैयाँ मुआब्जा निर्धारण गरिएको छ। चार आनाभन्दा कम जग्गा हुनेका लागि प्रतिआना चार लाख र बस्ती क्षेत्रबाहिरको जग्गाका लागि प्रतिआना एक लाख ५० हजार रुपैयाँ मुआब्जा तय गरिएको छ। करिब ८० रोपनी जग्गाको मुआब्जा दिनुपर्ने अनुमान गरिएको छ।

भेलाबाट घरको मूल्यांकन भने गरिएको छैन। पाठकका अनुसार, गाउँपालिकाका प्राविधिकले तयार पारेको प्रतिवेदनका आधारमा मात्र घरको मुआब्जा निर्धारण गरिनेछ। आयोजनाबाट २६ घरधुरी विस्थापित हुने भएका छन्। अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) प्रविधिमा आधारित ३४१ मेगावाट क्षमताको यो आयोजना निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो। साहस ऊर्जाले सल्लेरीमा बाँध निर्माण गरी ६.८ किलोमिटर लामो भूमिगत सुरुङमार्फत धार्चे–३ मा रहेको तातोपानीस्थित पावर हाउसमा विद्युत् उत्पादन गर्नेछ। उत्पादन भएको विद्युत् ४५ किलोमिटर लामो प्रसारण लाइनमार्फत नुवाकोटको रातामाटे सबस्टेसन हुँदै केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ। आयोजना निर्माणको कुल लागत लगभग ७० अर्ब रुपैयाँ अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स