बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै बालबालिकालाई चुनावी प्रचारप्रसारमा प्रयोग गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी दर्ता सकिएसँगै बालबालिकालाई जुलुसमा सहभागी गराइयो, राजनीतिक दलको चिन्ह र उम्मेदवारको तस्वीर भएको टिसर्ट लगाइयो, पार्टी कार्यालय र सम्पर्क कार्यालयमा विद्यालय पोशाकमै बालबालिकाको उपस्थित गराइयो र झण्डा बोकेर प्रचारमा प्रयोग गरिएको समाचार आएपछि सिजपले आपत्ति जनाएको हो।
सिजपका अध्यक्ष तिलोत्तम पौडेलले बालबालिका र विद्यालय शान्ति क्षेत्र भएको मान्यता विपरीत यस्ता क्रियाकलाप कानुनविरुद्ध भएको बताए। उनले बालबालिकाको दलगत प्रयोग रोक्न र विद्यालय तथा बालबालिकालाई शान्ति क्षेत्रका रूपमा विकास गर्न आग्रह गरे।
पौडेलका अनुसार बालबालिकासम्बन्धी ऐन, २०७५ र विद्यालय शान्ति क्षेत्र निर्देशिका, २०६८को विरुद्ध हुने यस्ता गतिविधिले बालबालिकाको मनोभावना, सुरक्षा, शैक्षिक कार्यक्रम तथा भविष्यमा समाजमा नकारात्मक असर पार्ने खतरा रहेको छ।
















प्रतिकृया