आगामी आम निर्वाचन नजिकिँदै जाँदा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) क्षेत्र नं. १ मा नेपाली कांग्रेसले चुनावी अभियानलाई तीव्र बनाएको छ। प्रतिनिधिसभा क्षेत्र नं. १ को चुनाव प्रचार–प्रसार समितिको कार्यालय, बर्दघाटमा आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा यस क्षेत्रका उम्मेदवार विनोद चौधरीले गगन थापाको नेतृत्वमा कांग्रेसले देश विकासको स्पष्ट खाका कोर्ने दाबी गरेका छन्।
“बदल्यौं कांग्रेस, बदल्छौं देश” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा महाधिवेशन प्रतिनिधि, जिल्ला नेतृत्व तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले कांग्रेस एक ढिक्का भएर अघि बढेमा जित सुनिश्चित हुने धारणा व्यक्त गर्दै वर्तमान अवस्थामा पार्टी एकताको आवश्यकता औँल्याएका थिए।
कांग्रेस जिल्ला सचिव कुलदीप आचार्यले कार्यकर्ता संरक्षण नै भोट संरक्षण भएको उल्लेख गर्दै विश्वले चिन्ने व्यक्तित्व विनोद चौधरीलाई आफ्नै क्षेत्रमा जिताउन कठिन नहुने बताए। “सबै एकजुट भएर लाग्यौं भने परिणाम हाम्रो पक्षमा आउँछ,” उनले भने।
निवर्तमान सांसदसमेत रहेका चौधरी २०७९ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। कार्यक्रममा उनले कांग्रेसको इतिहास क्रान्ति र आन्दोलनमार्फत आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणको साक्षी बनेको उल्लेख गर्दै अब त्यस इतिहासलाई विकासको ठोस मार्गचित्रमा रूपान्तरण गर्ने समय आएको बताए।
“मेरो मनमा कहिल्यै आग्रह–पूर्वाग्रह छैन। विकासको बाटो कांग्रेसले कोर्छ, र गगन थापाको नेतृत्वको कांग्रेसले देश विकासको रेखा कोर्छ,” चौधरीले भने। उनले विशेषगरी युवापुस्ता, खासगरी जेन–जी पुस्ताको भावना र आन्दोलनको मर्म कांग्रेसले बुझिसकेको दाबी गर्दै सुशासन कायम गर्नु र भ्रष्टाचार अन्त्य गर्नु नै पार्टीको मुख्य एजेन्डा रहेको स्पष्ट पारे।
कार्यक्रममा सहभागी नेताहरूले नवलपरासी क्षेत्र नं. १ मा कांग्रेस एकताबद्ध भएर चुनावी मैदानमा उत्रिएको सन्देश दिँदै आगामी निर्वाचनमा जित सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
















प्रतिकृया