निर्वाचन सुरक्षामा आजदेखि सेना उत्रियो: ८० हजार सैनिकसहित ४ तहको सुरक्षा घेरा, १ लाख ३३ हजार म्यादी प्रहरी परिचालन

निर्वाचन सुरक्षामा आजदेखि सेना उत्रियो: ८० हजार सैनिकसहित ४ तहको सुरक्षा घेरा, १ लाख ३३ हजार म्यादी प्रहरी परिचालन
File Photo

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने उद्देश्यले एकीकृत सुरक्षा योजना २०८२ अनुसार आज बुधबारदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदैछन्। निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ बनाउने सरकारको योजना अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत भई कार्यान्वयनमा आएको हो। निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने लक्ष्यअनुसार आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत रूपमा परिचालित हुन लागेका छन्।

एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि सुरक्षा व्यवस्थामा खटिनेछन्। मतदानस्थलको भित्री सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले सम्हाल्नेछन् भने दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ, जसले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गर्नेछ। नेपाली सेनाले सुरक्षा घेराको बाहिरी तहमा रहि महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नेछ। नेपाली सेनाले १६५ वटै निर्वाचन क्षेत्रमा परिचालन हुने तयारी गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन सुरक्षा व्यवस्थाका लागि सेनाको परिचालन स्वीकृत गरेका थिए। सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार आवश्यकताअनुसार सेनाको ‘वेस’ खडा गरिने र संयुक्त गस्ती समेत सञ्चालन गरिनेछ। सेनाले निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ।

एकीकृत सुरक्षा योजना अनुसार सेनाले निर्वाचनअघि मतपत्र छपाइ, मतपत्र ढुवानी, मतदानस्थलको सुरक्षा, मतपेटिका ढुवानी र मतगणनास्थलको सुरक्षा सुनिश्चित गर्नेछ। यसैगरी विमानस्थल, कारागारलगायत महत्त्वपूर्ण संरचनाको सुरक्षा पनि नेपाली सेनाले सम्हाल्नेछ। मतदानका दिन नेपाली सेना तेस्रो सुरक्षा घेरामा रहि राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचन कर्मचारीको सुरक्षा सुनिश्चित गर्नेछ।

यसपालिको निर्वाचनमा ३,४०६ उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगले माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ। देशभर ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य गरी कूल एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम छन्। मतदानका लागि १०,९६७ मतदानस्थलमा २३,११२ मतदान केन्द्र निर्धारण गरिएको छ। नेपाल प्रहरीबाट ७७ हजार जनशक्ति परिचालन हुनेछ। विद्यमान जनशक्तिले मात्रै पर्याप्त नपर्ने भएकाले १,३३,००० ‘निर्वाचन प्रहरी’ भर्ना गरिएको छ।

मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ। दुई हजार ८४५ मतदानस्थल सामान्य, चार हजार ४४२ संवेदनशील र तीन हजार ६८० मतदानस्थल अतिसंवेदनशील मानिएका छन्। सोही अनुसार नियमित प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको छ। सशस्त्र प्रहरीबाट ३४,५७६ जना र १५,११० ‘निर्वाचन प्रहरी’ गरी कुल ४९,६८६ जनालाई परिचालित गरिएको छ। निर्वाचनको समयमा कुनै अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाइएको छ र सशस्त्र प्रहरी १० मिनेटभित्र घटनास्थलमा पुग्नेगरी परिचालित गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स