instainsta

५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनामा ११ अर्ब ३० करोड लगानी हुने, वित्तीय व्यवस्थापन टुंगियो

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ३१ गते
५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनामा ११ अर्ब ३० करोड लगानी हुने, वित्तीय व्यवस्थापन टुंगियो
AdvertisementAds

दिव्यज्योति हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ५० मेगावाट क्षमताको ‘मर्स्याङ्दी बेसी जलविद्युत आयोजना’ को वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। यस आयोजनाका लागि कम्पनी र विभिन्न बैंकहरूबीच बुधबार काठमाडौंस्थित होटल एभरेष्टमा आयोजित कार्यक्रममा ऋण सम्झौतामा हस्ताक्षर गरिएको हो।

कुल ११ अर्ब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अगुवाइमा सह-वित्तीयकरणमार्फत ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गरिनेछ। बाँकी ३ अर्ब ८० करोड रुपैयाँ भने प्रवर्द्धक कम्पनीले स्वपुँजी (इक्विटी) मार्फत व्यवस्थापन गर्ने जनाएको छ।

गण्डकी प्रदेशको लमजुङ जिल्लाअन्तर्गत बेसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिका हुँदै बहने मर्स्याङ्दी नदीमा आयोजना निर्माण भइरहेको छ। कम्पनीका अनुसार निर्माण सम्पन्न गर्न ४ वर्षको समय तोकिए पनि कामलाई तीव्रता दिँदै आगामी ३० महिनाभित्रै आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

आयोजनाबाट उत्पादित विद्युत् करिब ८ किलोमिटर टाढा रहेको नेपाल विद्युत प्राधिकरणको १३२ केभी क्षमताको उदिपुर सब-स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।

कम्पनीले यसअघि २०७५ भदौ १० गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद-बिक्री सम्झौता (PPA) गरिसकेको छ। साथै २०७४ असोज १ गते ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत विकास विभागबाट उत्पादन अनुमति पत्र प्राप्त गरेको थियो। वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै आयोजनाको निर्माण कार्यले थप गति लिने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स