उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रसेवकहरू सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने गरेको बताएका छन् । बुधवार ललितपुरमा आयोजित सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले सरुवा-बढुवाका लागि मन्त्री र नेताको घर नजान पनि आग्रह गरे । उनले सरुवा-बढुवामा अन्यथा भए मर्यादित ढंगले आफ्ना तर्कहरु राख्न आग्रह गरे । उनले सोर्स लगाउने कर्मचारीहरु क्षमताले जतिसुकै सक्षम भएपनि निरिह र कमजोर हुने बताए । उनले उनीहरु राष्ट्रको सेवा भन्दा पनि सोर्स लगाउनेप्रति अनुगृहित हुने बताए । अर्थमन्त्री पौडेलले भने,‘पोस्टिङजस्ता विषयमा अन्यथा भयो भने मर्यादित ढंगले आफ्ना तर्क राख्नुहोला । तर नेता, मन्त्रीकहाँ मलाई यो ठाउँमा पठाइदिनुस् भनेर सोर्स लगाउन नजानु होला । सोर्स लगाउने कर्मचारीहरु क्षमताले जतिसुकै सक्षम भएपनि उनीहरु वास्तवमा निरीह र कमजोर हुन पुग्छन् ।’
तेस्तै, उनले यदाकदा सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने प्रवृत्ति देखिएको भन्दै सबैप्रति समान व्यवहार गर्न आग्रह गरे । उनले पोशाकका आधारमा व्यवहार नगरी सेवाग्राहीका समस्याहरु बुझेर यथोचित ढंगले सम्बोधन गर्न निर्देशन दिए ।
उपप्रधानमन्त्री पौडेलले आफूलाई असल राष्ट्रसेवक प्रमाणित गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्ने बताए । उनले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्ने र सहज ढंगबाट सेवा प्राप्त गर्ने अनुकुल परिस्थिति निर्माण गर्ने काममा ध्यान दिन आग्रह गरे । उनले हाकिमको आदेश भन्दा पनि कानूनसँग, राष्ट्रको हित, नागरिकको हितसँग बाझिएका बाहेकमा डराउनुपर्ने स्थिति नरहेको बताए ।
















प्रतिकृया