टेस्लाका सीईओ तथा विश्वकै धनी व्यक्तिहरूमध्ये एक एलन मस्कको सम्पत्ति एकैदिन करिब २० अर्ब डलरले बढेको छ। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः व्हाइट हाउस फर्किएपछि टेस्लाको सेयरमा ठूलो उछाल देखिएको हो, जसले मस्कको सम्पत्ति उल्लेख्य रूपमा वृद्धि गराएको छ। बुधवार कारोबारको सुरुवातमै टेस्लाको सेयर मूल्य १२.७% ले बढेर $२५१.४४ बाट $२८३.२४ पुगेको थियो।
मस्कसँग टेस्लाको १३ प्रतिशत अर्थात् ४११ मिलियनभन्दा बढी सेयरहरू छन्, जसले कम्पनीको सेयर मूल्य वृद्धिसँगै उनलाई ठूलो आर्थिक फाइदा पुर्याएको छ। ट्रम्पको अभियानमा करिब १२ करोड डलरको सहयोग गरेका मस्कको यो दाउ अहिले फाइदामूलक सावित भएको छ। टेस्लाको यो सेयर उछालले कम्पनीको बजार मूल्य ९०० अर्ब डलर नाघेको छ, जुन सेप्टेम्बर २०२२ यताकै उच्च हो। फोर्ब्सको अर्बपति सूचीअनुसार मस्कको कुल सम्पत्ति अहिले $२८५.२ अर्ब पुगेको छ।
ट्रम्पको दोश्रो कार्यकालमा इलेक्ट्रिक गाडी (ईभी) उद्योगमा ठूला परिवर्तन आउने अनुमान गरिएको छ। सम्भावना छ कि ईभी खरिदमा दिइने कर छुट हटाइनेछ, जसले टेस्लालाई प्रतिस्पर्धा घटाउन र नियमनात्मक सरलता हासिल गर्न सहयोग पुर्याउन सक्छ। विजय भाषणमा ट्रम्पले मस्कको प्रशंसा गर्दै उनलाई “सुपर जीनियस” र “अमेरिकी प्रतिभा” भन्दै स्पेसएक्स र स्टारलिंकको भूमिकाको विशेष उल्लेख गरेका थिए।
टेस्लाको सेयरमा आएको यस बृद्धिले मस्कको नयाँ प्रशासनसँगको सहकार्यमा थप लाभको सम्भावना देखाउँदै लगानीकर्ताहरूको विश्वासलाई थप मजबुत बनाएको छ।
(एजेन्सीहरुको सहयोगमा)















प्रतिकृया