अमेरिकी अर्बपति तथा एक्स (पहिले ट्विटर)का मालिक एलन मस्कले आफ्नो सामाजिक सञ्जाल प्रोफाइलमा फेरि नयाँ नाम प्रयोग गरेका छन्।
यसपटक उनले आफ्नो नाम परिवर्तन गरी ‘केकियस म्याक्सिमस’ राखेका छन्। प्रोफाइल तस्वीर पनि परिवर्तन गर्दै उनले आफ्नै फोटोको सट्टा ‘पेप द फ्रग’ नामक चर्चित मिमको तस्वीर प्रयोग गरेका छन्, जसमा पेपलाई योद्धा जस्तै कपडा लगाएको र हातमा गेम खेल्ने ज्वाइस्टिक समातेको देख्न सकिन्छ। मस्कको यो कदमसँगै क्रिप्टोकरेन्सी बजारमा चर्चा चुलिएको छ।
‘केकियस म्याक्सिमस’ नाम ग्लेडियेटर चलचित्रका रोमन सेनापति ‘म्याक्सिमस’ पात्रसँग प्रेरित छ, जसलाई अभिनेता रसेल क्रोले निभाएका थिए। साथै, यो नाम क्रिप्टो बजारमा लोकप्रिय मिम क्वाइनसँग पनि सम्बन्धित छ, जसको २४ घण्टाको व्यापारिक भोल्युम २.७ मिलियन डलर पुगेको छ।
२७ डिसेम्बरमा यसको मूल्य उच्चतम बिन्दुमा पुगेको थियो, जसले लगानीकर्ताहरूको ध्यान तानेको छ। एलन मस्कले आफ्नो नाम परिवर्तनको कारण खुलाएका छैनन्, तर यस कदमले क्रिप्टो बजारमा उनको प्रभावलाई झल्काउने अनुमान गरिएको छ। मस्कका अनौठा सामाजिक सञ्जाल क्रियाकलापहरूले प्रायः बजारमा उल्लेखनीय असर गर्ने गरेका छन्।
















प्रतिकृया