नेपालको सेयर बजार पछिल्लो केही समयदेखि सुस्त देखिएको छ। दैनिक कारोबार ८–१० अर्बबाट घटेर २–३ अर्बको हाराहारीमा सीमित हुँदा लगानीकर्तामा अन्योल, डर र प्रतीक्षाको मनोविज्ञान बढेको छ। यही विषयमा प्रियराज रेग्मीले अहिलेको बजार सुस्त हुनुको मुख्य कारण “प्रतीक्षा र अनिश्चितता” भएको बताए।
उनका अनुसार नयाँ सरकार बनेपछि सुशासनलाई प्राथमिकता दिइँदा व्यवसायीहरूमा “अब के हुन्छ?” भन्ने मनोविज्ञान पैदा भएको छ। ठूला व्यवसायिक घराना, उद्योगी र वित्तीय क्षेत्रमाथि अनुसन्धान भइरहेका कारण निजी क्षेत्र आफ्नो व्यवसाय विस्तारभन्दा पनि “डिफेन्स मोड” मा गएको उनले बताए। उनका अनुसार बजार अहिले “वेट एण्ड सी” को अवस्थामा छ, जहाँ लगानीकर्ता र व्यवसायीहरू सरकारले आगामी बजेट, नीति, कर प्रणाली, निजी क्षेत्रप्रतिको दृष्टिकोण र कानुनी सुधार कसरी अघि बढाउँछ भनेर हेरेर बसेका छन्।
रेग्मीले नेपालमा ब्रोकरहरूलाई बजारको “रियल ड्राइभर” भनिए पनि वास्तवमा ब्रोकरहरूको दायरा अत्यन्त सीमित रहेको बताए। विकसित मुलुकमा ब्रोकरहरूले रिसर्च, एडभाइजरी, पोर्टफोलियो म्यानेजमेन्ट, मार्जिन ट्रेडिङ जस्ता सेवा दिएर बजारलाई चलायमान बनाउने भए पनि नेपालमा अझै ब्रोकरहरू केवल “ट्रेडिङ प्लेटफर्म” उपलब्ध गराउने भूमिकामा सीमित रहेको उनको भनाइ थियो। “ब्रोकरलाई स्कोप दिइयो भने बजार आफैं भाइब्रेन्ट हुन्छ,” उनले भने।
पछिल्लो समय ब्रोकरहरूले लगानीकर्तालाई दिने लिमिट कडाइ गरेको विषयमा उनले यसलाई “सेल्फ डिसिप्लिन” को प्रक्रिया भने। धितोपत्र बोर्ड र नेप्सेले २५ प्रतिशत अग्रिम रकम लिएर मात्रै कारोबार गराउनुपर्ने व्यवस्था स्मरण गराएपछि ब्रोकरहरूले जोखिम घटाउने प्रयास गरेको उनको भनाइ छ। उनका अनुसार नेपालमा पछिल्ला वर्षहरूमा ट्रेडर हावी भए, जसका कारण अत्यधिक लेभरेज, उधारो कारोबार र छोटो अवधिको मुनाफामुखी मानसिकताले धेरै लगानीकर्ताको पूँजी क्षयीकरण भएको छ। “बजार ट्रेडरले चाहेजस्तो चल्दैन, यसको आफ्नै चक्र हुन्छ,” उनले भने।
आईपीओ प्रणालीबारे बोल्दै रेग्मीले अहिलेको संरचनालाई नै बजारको विकृतिको मुख्य कारण माने। कम फ्लोट, लामो लक–इन अवधि र सीमित सप्लाईका कारण नयाँ कम्पनीहरूको सेयर अस्वाभाविक रूपमा उचालिने अवस्था बनेको उनले बताए। उनका अनुसार सबै आईपीओलाई बुक बिल्डिङ प्रणालीबाट ल्याउनुपर्छ र सूचीकरण भएको दिनदेखि प्रमोटर तथा इन्साइडर बाहेकका सबै सेयर कारोबारका लागि खुला गर्नुपर्छ। “सप्लाई कृत्रिम रूपमा रोक्दा बजारमा बबल बन्छ,” उनले स्पष्ट पारे।
धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाउन लागेको सन्दर्भमा उनले बोर्डले तत्काल नियमन प्रणाली बलियो बनाउनुपर्ने, प्रविधि र मानव स्रोत क्षमता बढाउनुपर्ने, बजार मध्यस्थकर्ताको स्कोप विस्तार गर्नुपर्ने र मार्जिन ट्रेडिङ कार्यान्वयन गर्नुपर्ने बताए। उनका अनुसार रिसर्च, एडभाइजरी र पोर्टफोलियो म्यानेजमेन्ट जस्ता सेवा सुरु गर्न दिइयो भने बजार थप व्यवस्थित र परिपक्व बन्न सक्छ।
मार्जिन ट्रेडिङको विषयमा उनले नेपालमा यसको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। बैंक तथा वित्तीय संस्थाहरू सकारात्मक रहेको र नयाँ आर्थिक वर्षदेखि यो सेवा सुरु गर्ने लक्ष्य रहेको उनले बताए। अहिले यसको लागि छुट्टै डिम्याट, रिपोर्टिङ सिस्टम तथा आवश्यक प्रविधि निर्माणको काम भइरहेको उनको भनाइ थियो।
नेपालमा इन्ट्राडे कारोबार सुरु गर्नुपर्ने माग बढ्दै गए पनि रेग्मीका अनुसार बजार अझै त्यसका लागि पूर्ण रूपमा तयार छैन। “आज २० अर्ब कारोबार हुन्छ, भोलि २ अर्बमा झर्छ। यस्तो बजारमा इन्ट्राडे सुरु गर्दा जोखिम बढ्छ,” उनले भने। उनका अनुसार पर्याप्त लिक्विडिटी, डेलिभरी सुनिश्चितता र स्थिर कारोबार संरचना बिना इन्ट्राडे कारोबार सुरक्षित हुँदैन।
बजेटबाट बजारले के खोजिरहेको छ भन्ने प्रश्नमा उनले करका दरभन्दा पनि “व्यवसायिक वातावरण” महत्त्वपूर्ण भएको बताए। विशेषगरी क्यापिटल गेन ट्याक्सलाई अन्तिम करका रूपमा स्पष्ट व्यवस्था गर्नुपर्ने र गैरआवासीय नेपालीलाई सहज रूपमा बजारमा प्रवेश गराउनुपर्ने उनको धारणा थियो। उनका अनुसार एनआरएनले पूँजीसँगै अनुभव र नेटवर्क पनि ल्याउने भएकाले नेपालको पूँजी बजार र अर्थतन्त्र दुवैका लागि फाइदाजनक हुन्छ।
भविष्यका सम्भावित क्षेत्रबारे बोल्दै उनले बैंक तथा वित्तीय संस्था, जलविद्युत, उत्पादनमूलक उद्योग र सिमेन्ट क्षेत्रमा सम्भावना देखिएको बताए। विशेषगरी बैंकहरूको सेयर मूल्य अहिले धेरै तल रहेको र अर्थतन्त्र सुधारिएसँगै ती संस्थाहरू पुनः आकर्षक बन्न सक्ने उनको विश्लेषण छ।
नेप्से सूचक २७०० आसपास टिकिरहेको सन्दर्भमा उनले बजार धेरै तल जाने सम्भावना कम रहेको बताए। उनका अनुसार धेरै पुराना लगानीकर्ता अझै पनि घाटामा छन् भने बैंक तथा इन्सुरेन्स सेक्टरले पूर्ण रूपमा वृद्धि देखाइसकेका छैनन्। “यो एकदमै तल्लो लेभलको इन्डेक्स हो,” उनले भने।
अन्त्यमा उनले भने, “यदि बजेटपछि व्यवसायिक वातावरण सुधारिन्छ, नीति सहज हुन्छ र लगानीकर्तामा आशा बढ्छ भने पूँजी बजारले अब फर्केर पछाडि हेर्नु पर्दैन।”

प्रतिकृया