ट्रेड टावर लिमिटेडले २०८२ साल वैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ। यसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९ दशमलव ३० कित्ता सेयर निष्काशन गर्न लागिएको हो।
यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन्। सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा निर्माण गरिएको ‘मेरो शेयर’ सफ्टवेयरमार्फत अनलाइन सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। इक्रा नेपालले यस कम्पनीलाई आईपीओ निष्काशनको लागि ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस (BB-)’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।




















प्रतिकृया