सूर्यदर्शन सहकारी प्रकरणमा सरकारी वकिलको बहस सकियो, थुनछेक निर्णय आजै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित अन्य सात जना व्यक्तिहरू मुछिएको पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिलको तर्फबाट बहस समाप्त भएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले आज थुनछेक आदेश सुनाउने सम्भावना रहेको छ।
बुधबार प्रतिवादीको तर्फबाट थुनछेक बहस सम्पन्न भएपछि जाहेरवालाका तर्फबाट जवाफी बहस भएको थियो। आज सरकारी वकिल कार्यालय कास्की र उच्च सरकारी वकिल कार्यालय पोखराले जवाफी बहस गरेसँगै बहस प्रक्रिया समाप्त भएको छ। जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीका अनुसार आदेश आजै आउनसक्छ।
थुनछेक आदेशको मिति नजिकिँदै जाँदा बुधबारबाटै अदालत परिसर र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। शहीदचोक, रत्नचोक, मालपोत कार्यालय, मासबार हुँदै मुख्यमन्त्री कार्यालय छिर्ने क्षेत्रसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ। नागरिकहरूले आवश्यक कागजात देखाएरमात्र प्रवेश पाउने प्रशासनले जनाएको छ।
दुई दिनअघि अदालत बाहिर अनपेक्षित गतिविधि देखिएपछि सुरक्षा थप कडा पारिएको हो। बुधबार रास्वपाका कार्यकर्ताहरूले अदालत प्रवेश गर्न खोजे पनि प्रहरीले रोक लगाएको थियो।
यो प्रकरणमा रवि लामिछानेसँगै पूर्व डिआइजी र गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, लामिछानेका सहयोगी लिला पछाईं, पूर्व सांसद मीना गुरुङ, संस्थापक सदस्य मीना गुरुङका पिता कृष्णबहादुर, र पूर्व कोषाध्यक्ष आरती गुरुङ मुछिएका छन्। उनीहरूमाथि सरकारी वकिल कार्यालय कास्कीले १ अर्ब ५१ करोड बिगो मागसहित पुस ५ गते अभियोग पत्र दर्ता गरेको थियो।
न्यायाधीश नीतिज राईको इजलासले आजै अभियुक्तहरूलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने फैसला गर्नेछ। यसले प्रकरणमा थप कानुनी दिशा तय गर्नेछ।