नेपालमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित आईएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौँ टेक्निकल स्कुल (केटीएस) सञ्चालनमा आएको छ। मंगलबार काठमाडौंको धुम्बाराहीमा आयोजित विशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले स्कुलको उद्घाटन गरेका हुन्।
यो संस्थाले हस्पिटालिटी, कुलिनरी आर्ट्स, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङ लगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक तालिमहरू सञ्चालन गर्नेछ। केटीएसले आगामी एक दशकमा एक लाखभन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सीप विकास र प्राविधिक जनशक्ति उत्पादनमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको र रोजगारी, उद्यमशीलता, र आर्थिक वृद्धिको लागि सरकारले निजी क्षेत्रसँग साझेदारीलाई प्राथमिकता दिएको बताए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका संस्थापक चन्द्र ढकालले काठमाडौँ टेक्निकल स्कुल प्राविधिक शिक्षामा क्रान्तिकारी परिवर्तन ल्याउने परियोजना भएको बताए। ‘हामीले आगामी एक दशकमा एक लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेशनलहरू उत्पादन गर्ने लक्ष्य लिएका हौँ । यसका लागि यस स्कुलले तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधाहरूमा तालिमहरू सञ्चालन गर्नेछ,’ उनले भने ।
काठमाडौं टेक्निकल स्कुलका अध्यक्ष मनोज पौडेलले स्कुलले युवालाई विश्वस्तरीय तालिम प्रदान गरी उनीहरूलाई अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने बताए। केटीएसले स्थानीय तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्दै उद्योग–व्यवसायका आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने योजना बनाएको छ।
कार्यक्रममा सरकारका उच्च अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, विदेशी कूटनीतिक नियोगका सदस्यहरू तथा विभिन्न क्षेत्रका सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।















प्रतिकृया