८ महिनामा साढे १ खर्बको निर्यात, साढे ११ खर्बको आयात
चालु आर्थिक वर्षको आठ महिनामा नेपालले साढे एक खर्ब रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा निर्यात गरेको छ भने साढे ११ खर्ब रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा आयात गरेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, आठ महिनामा कुल वस्तु तथा सेवा निर्यात ५७.२ प्रतिशतले बढेर नेपालले १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँको निर्यात गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यातमा ४ प्रतिशतले घटेको थियो।
नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुहरूमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, पार्टिकल बोर्ड, र अलैँची रहेका छन्, यता पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक र जुत्ता जस्ता वस्तुको निर्यात भने घटेको छ।
अर्कोतर्फ, आठ महिनामा ११ खर्ब ४५ अर्ब ५७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.२ प्रतिशतले बढी हो। यस अवधिमा प्रमुख आयात वस्तुहरूमा भटमासको कच्चा तेल, चामल/धान, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, खाने तेल र स्पञ्ज आइरन रहेका छन्।
पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाइजहाजका पार्टपुर्जा, लेख्ने तथा छाप्ने कागज र रासायनिक मल जस्ता वस्तुको आयात घटेको देखिएको छ। प्रमुख आयात गन्तव्य देशहरू भारत, चीन र अन्य मुलुकहरू रहेका छन्।