कर्पोरेट हाउसका लागि उदाहरण: रिलायन्स स्पिनिङले बोनसमा ५०० प्रतिशत वृद्धि, ४ हजार मजदुरलाई ६ करोड वितरण

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २६ गते
कर्पोरेट हाउसका लागि उदाहरण: रिलायन्स स्पिनिङले बोनसमा ५०० प्रतिशत वृद्धि, ४ हजार मजदुरलाई ६ करोड वितरण

‘मजदुरमैत्री’ उद्योगको रूपमा चिनिएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा आफ्ना कर्मचारीलाई ६ करोडभन्दा बढी बोनस वितरण गरेको छ। तीन दशक लामो यात्रामा मजदुरको बन्द–हड्ताल, असन्तुष्टिको आवाज वा अवरोध नदेखिएको कारण यो उद्योग ‘मजदुरमैत्री’ उद्योगको रूपमा चिनिँदै आएको हो।

कम्पनीका अनुसार कर्मचारीलाई ६९ दिन बराबरको ६ करोड २ लाख ४७ हजार ९६३ रुपैयाँ बोनस दिइएको हो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले १ करोड १ लाख ८ हजार ३१६ रुपैयाँ मात्रै बोनस दिएको थियो। यसरी हेर्दा कम्पनीले कर्मचारीलाई दिने बोनस करिब ५ सय प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा कम्पनीले कर्मचारीको पारिश्रमिकमा ११ करोड ६० लाख ३३ हजार १ सय ९८ रुपैयाँ खर्च गरेको छ, जुन अघिल्लो वर्षभन्दा करिब ५५ लाख ८० हजार रुपैयाँ बढी हो।

रिलायन्स स्पिनिङ मिल्समा करिब ४ हजार कर्मचारी कार्यरत छन्, जसमा झण्डै १ हजार ३ सय महिला छन्। उद्योग परिसरमा महिलाका लागि स्तनपान कक्ष, बालबालिकाका लागि डे–केयर सेन्टर, कर्मचारीका छोराछोरीका लागि १२ कक्षासम्म पढ्ने व्यवस्था गरिएको छ। साथै कर्मचारीका लागि लेबर कोलोनी, खेल मैदान, क्यान्टिन, एम्बुलेन्स र डाक्टरको सुविधा पनि उपलब्ध छ।

कम्पनीले गत आर्थिक वर्षमा ४७ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष कम्पनीको खुद नाफा ५ करोड ३ लाख रुपैयाँ मात्रै थियो। यसरी कम्पनीको नाफा करिब ८४५ प्रतिशतले बढेको देखिन्छ।

रिलायन्स स्पिनिङ मिल्सले केही समयअघि मात्रै आईपीओ निष्कासन प्रक्रिया पूरा गरेर धितोपत्र बजारमा सूचीकृत भएको हो। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ४ अर्ब ७९ करोड रुपैयाँ आम्दानी गरेको छ भने १३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ४९० रुपैयाँ ५४ पैसा पुगेको छ।

२०५४ सालमा स्थापना भएको रिलायन्स स्पिनिङ मिल्स गोल्याण समूह अन्तर्गत सञ्चालनमा रहेको उद्योग हो। कम्पनीले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्सचर्ड धागो उत्पादन गर्दै आएको छ। यसको उत्पादन नेपालभित्र प्रयोग हुनुका साथै भारत र टर्की लगायत देशमा निर्यात पनि हुने गरेको छ। कम्पनीले वर्षमा करिब ५ करोड अमेरिकी डलर बराबरको निर्यात गर्ने गरेको छ।

हाल उद्योगको नेतृत्व गोल्याण समूहका तेस्रो पुस्ताका प्रतिनिधि अक्षय गोल्याणले गरिरहेका छन्। सुरुमा ९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको उद्योग अहिले १ लाख २ हजार ८ सय २४ स्पिन्डल क्षमता सहित सञ्चालनमा रहेको छ। सुनसरीको खनार र दुहबी मा उद्योगका दुई वटा धागो कारखाना छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स