एफबीआई निर्देशकको राजीनामा निर्णयबारे डोनाल्ड ट्रम्पको प्रतिक्रिया, के भने?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २७ गते
एफबीआई निर्देशकको राजीनामा निर्णयबारे डोनाल्ड ट्रम्पको प्रतिक्रिया, के भने?

अमेरिकाको अनुसन्धान एजेन्सी एफबीआई (फेडरल ब्युरो अफ इन्भेस्टिगेसन) का निर्देशक क्रिस्टोफर रेले गरेको राजीनामा दिने निर्णयप्रति नवनिर्वाचित डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन्।
उनले यसलाई अमेरिकाका लागि ‘ठूलो दिन’ भएको बताएका छन्। ट्रम्पले एक्समा लेखेका छन्, ‘क्रिस्टोफर रेको राजीनामा अमेरिकाका लागि ठूलो दिन हो। यसले अमेरिकी न्याय विभागलाई हतियारका रूपमा प्रयोग हुनबाट रोक्नेछ। अब हामी फेरि सबै अमेरिकीका लागि कानुनको शासन लागू गर्नेछौँ।’

उनले अगाडि लेखेका छन्, ‘क्रिस्टोफर रेको नेतृत्वमा एफबीआईले अवैध रूपमा मेरो घरमा छापा मार्‍यो। उसले धेरै निर्दोष अमेरिकीहरूलाई धम्की दिन र हटाउन आफ्नो शक्ति प्रयोग गर्‍यो।’अब उनको स्थानमा नियुक्त हुने काश पटेल एफबीआईको इतिहासमै सबैभन्दा योग्य व्यक्ति भएको दाबी ट्रम्पले गरेका छन्।

ट्रम्पको यो प्रतिक्रिया एफबीआईका वर्तमान निर्देशक क्रिस्टोफर रेले राजीनामा गर्ने घोषणाा गरेपछि आएको हो। रेले बुधबार एफबीआईको आन्तरिक बैठकमा पदबाट राजीनामा दिने घोषणा गरेका हुन्। केही साताको विचारविमर्शपछि आफूले पदबाट राजीनामा दिने निर्णय गरेको रेले बताए।

ट्रम्पले यसअघि नै एफबीआईको नेतृत्वका लागि आफ्नो विश्वासपात्र काश पटेलको नाम घोषणा गरिसकेका छन्। क्रिस्टोफर रेलाई ट्रम्पले आफ्नो अन्तिम कार्यकाल २०१७ मा नियुक्त गरेका थिए। उनी १० वर्षका लागि नियुक्त भएका थिए। तर ट्रम्प अघिल्लो राष्ट्रपति चुनाव हारेपछि एफबीआईले उनीविरुद्ध अनुसन्धान सुरु गरेको थियो। यसका लागि रेले रिपब्लिकनहरूको आलोचनाको सामना गर्नुपरेको थियो। नवनिर्वाचित ट्रम्पले आगामी जनवरी २० देखि राष्ट्रपति पद सम्हाल्दै छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स