व्यापार युद्धको डरले कच्चा तेलको मूल्य ४ वर्षको सस्तोमा, कारण के ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १०४% भन्सार शुल्क लगाएको घोषणासँगै कच्चा तेल (क्रुड आयल) को मूल्य बुधबार ४ वर्षको न्यूनतम बिन्दुमा झरेको छ। ब्रेन्ट क्रुड ब्यारेलको ६०.६९ डलरमा झरेको छ भने डब्लुटीआई (WTI) क्रुड ५७.२२ डलर मा कारोबार भइरहेको छ। विश्लेषकहरूका अनुसार अमेरिका–चीनबीचको बढ्दो व्यापार तनाव, ओपेक प्लस (OPEC+) को उत्पादन वृद्धि, र साउदी अरेबियाको मूल्य कटौतीले तेल बजारमा नकारात्मक दबाव सिर्जना गरेको हो।
कारण के ?
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयअघि चीनलगायतका देशबाट आयात हुने सामानमा थप भन्सार कर लगाउने निर्णय गरे। यो निर्णयले विश्वमा व्यापारमा समस्या आउन सक्छ भन्ने डर फैलिएको छ। व्यापारमा असर परेपछि उद्योग-धन्दा सुस्त हुन सक्छ, जसको असर कच्चा तेलको मागमा परेको छ। तेलको माग घटेपछि स्वाभाविक रूपमा यसको मूल्य पनि घट्छ।
त्यसका साथै, अमेरिका अहिले आफैंले उत्पादन गरेको तेल अन्तर्राष्ट्रिय बजारमा बेच्ने तयारीमा छ। यसले बजारमा अझ धेरै तेल उपलब्ध हुने भएकोले आपूर्ति बढेको छ। जब बजारमा आपूर्ति धेरै हुन्छ र माग कम हुन्छ, त्यस्तो अवस्थामा मूल्य घट्छ। यही कारणले अहिले कच्चा तेलको भाउ घटेर ब्यारेलको ५६ डलर नजिक पुगेको हो।