एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँ मूल्यका १४ लाख १० हजार कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको हो।
कुल निष्काशनमध्ये ४ करोड ७० लाख रुपैयाँ बराबरका ४ लाख ७० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। यसअन्तर्गत ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं. ७ र ८ का उच्च प्रभावित क्षेत्रका बासिन्दालाई, ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २ तथा रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. ३ का मध्यम प्रभावित क्षेत्रका बासिन्दालाई र बाँकी २० प्रतिशत अर्थात ९४ हजार कित्ता रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. २ र गोकुलगंगा गाउँपालिका वडा नं. १ का न्यून प्रभावित क्षेत्रका बासिन्दालाई बाँडफाँट गरिनेछ। प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन छिटोमा फागुन २५ गते र ढिलोमा चैत १० गते बन्द हुनेछ।
यसैगरी सर्वसाधारण समूहअन्तर्गत छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात ९४ हजार कित्ता (९४ लाख रुपैयाँ बराबर) सेयर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ। यस समूहका लागि आवेदन छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गते बन्द हुनेछ। प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ भने न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ।
स्थानीय बासिन्दाले अधिकतम ४७ हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। केयर रेटिङ्ग नेपालले कम्पनीलाई CARE-NP BB- (डबल बी माइनस) इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।
स्थानीय बासिन्दाले आयोजना कार्यालय ओखलढुङ्गासहित लक्ष्मी सनराइज बैंकका किन्जा (सोलुखुम्बु), शिवालय र प्रिति (रामेछाप) शाखा, नेपाल इन्भेष्टमेन्ट बैंक खिजिदेम्बा (ओखलढुङ्गा) तथा सिटिजन्स बैंक लिखुपिके (सोलुखुम्बु) शाखाबाट आवेदन दिन सक्नेछन् र आवेदन फारामका लागि २ रुपैयाँ शुल्क लाग्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

















प्रतिकृया