कोभिड-१९ महामारीबाट बिस्तारै उकासिँदै गरेको विश्व फेरि नयाँ भाइरसको प्रकोपबाट प्रभावित भएको छ। चीनबाट सुरु भएको ह्युमन मेटा न्यूमोभाइरस (एचएमपीभी) अहिले भारतमा पनि देखिएको छ। यो भाइरसका लक्षणहरू कोभिड-१९ का लक्षणसँग मिल्दोजुल्दो छन्, जसले स्वास्थ्य क्षेत्रलाई सचेत बनाएको छ।
भारतको बेंगलुरुस्थित एक निजी अस्पतालमा भर्ना भएका आठ महिनाका शिशुमा यो भाइरसको संक्रमण पुष्टि भएको छ। इन्डिया टुडे का अनुसार, भारतमा यो भाइरस पहिलो पटक पाइएको हो। स्वास्थ्य विभागले संक्रमितको नमुना सरकारी प्रयोगशालामा परीक्षण नगरिए पनि निजी अस्पतालबाट आएको रिपोर्ट प्रमाणित भएको जनाएको छ।
यसअघि, चीनका अस्पतालहरूमा भीडभाड र श्मशान घाटमा चाप देखिएको भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए। रिपोर्टअनुसार, यो भाइरस विशेष गरी दुई वर्षभन्दा कम उमेरका बालबालिकामा बढी देखिएको छ। कोभिड-१९ को अनुभवलाई मध्यनजर गर्दै, स्वास्थ्य अधिकारीहरूले नयाँ भाइरसको संक्रमणबारे थप अनुसन्धान गर्नुपर्ने र सबैलाई सतर्क रहन अपिल गरेका छन्।
इन्डिया टुडे का अनुसार, फ्लुजस्ता लक्षण भएका बिरामीहरूमा यो भाइरस ०.७% मात्र पत्ता लाग्छ। यद्यपि, यो भाइरसको ठ्याक्कै प्रकार कस्तो हो भन्ने स्पष्ट जानकारी उपलब्ध नभएकाले थप अनुसन्धानको आवश्यकता विज्ञहरूले औंल्याएका छन्। हालसम्म यसको असर कति गम्भीर हुन सक्छ भन्ने ठोस जानकारी भने छैन, तर स्वास्थ्य विभाग र विशेषज्ञहरू यसबारे थप सतर्कता अपनाउँदै अध्ययन गर्दैछन्।
















प्रतिकृया