पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि थप ६ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।
बिहीबार विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले पौडेलविरुद्ध तेस्रो पटक म्याद थप गर्ने आदेश दिएको हो। यसअघि अदालतले असार ९ गते सात दिन र असार १५ गते तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
पौडेल हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा छन्।
उनी गैरकानुनी रूपमा थुनामा रहेको दाबी गर्दै उनकी पत्नी दोमायाले असार १० गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उक्त रिटमाथि न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भइरहेको छ।
यसैबीच, मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले व्यापारी दिपक भट्ट, सुलभ अग्रवाललगायतसँग जोडिएका सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर तथा धितोपत्रसम्बन्धी मुद्दाका फाइलहरू अध्ययनका लागि झिकाउन आदेश दिएको थियो।

प्रतिकृया