कस्तो रहला डा. भट्टको कार्यशैली ?, पूँजी बजारले खोजेको सुधारको सुरुवात हुन्छ ? [भिडियोसहित]

नेपालको पूँजी बजार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लामो प्रतीक्षापछि नयाँ अध्यक्ष पाएको छ। मन्त्रिपरिषद्को निर्णयबाट डा. गोपाल भट्ट सेबोनको अध्यक्ष नियुक्त भएसँगै लगानीकर्ता, ब्रोकर, सूचीकृत कम्पनी र सम्पूर्ण पूँजी बजारका सरोकारवालाको ध्यान अब उनको कार्यशैली र प्राथमिकतामा केन्द्रित भएको छ।

डा. भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। राष्ट्र बैंकमा रहँदा उनले नियमन, सुपरिवेक्षण तथा नीति निर्माणका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यसका साथै उनले नेपालको पूँजी बजारको प्रभावकारिता (Capital Market Efficiency) सम्बन्धी विषयमा विद्यावारिधि (PhD) गरेका छन्। यही कारणले पनि उनी नेपालको पूँजी बजारबारे गहिरो अध्ययन र अनुभव भएका व्यक्तिका रूपमा चिनिन्छन्।

डा. भट्टले विभिन्न अवसरमा नेपालको बजारलाई पूर्ण अर्थमा ‘क्यापिटल मार्केट’ भन्न नसकिने धारणा व्यक्त गर्दै आएका छन्। उनका अनुसार अहिलेको बजार मुख्यतः ‘सेयर मार्केट’ मा सीमित छ।

विकसित देशहरूमा क्यापिटल मार्केटभित्र इक्विटी, डेट, प्रिफरेन्स सेयर, डेरिभेटिभजस्ता विभिन्न वित्तीय उपकरणको कारोबार हुने गर्दछ। तर नेपालमा अधिकांश कारोबार साधारण सेयर (Common Equity) मै केन्द्रित छ। यही कारण पूँजी बजारलाई विविधिकरण गर्दै डेट मार्केट तथा अन्य वित्तीय उपकरण विस्तार गर्नु आवश्यक रहेको उनको धारणा छ।

नेपालको सेयर बजारमा माग पक्ष (Demand Side) कमजोर रहेको विषय पनि डा. भट्टले बारम्बार उठाउने गरेका छन्। अहिले बजार मुख्यतः खुद्रा (Retail) लगानीकर्तामा निर्भर छ।

विशेषज्ञहरूका अनुसार बजारलाई दिगो र स्थिर बनाउन संस्थागत लगानीकर्ताको सहभागिता बढाउन आवश्यक छ। यही कारण आगामी दिनमा पेन्सन फण्ड, म्युचुअल फण्ड, बीमा कम्पनी तथा अन्य संस्थागत लगानीकर्ताको भूमिका विस्तार गर्ने दिशामा नयाँ नेतृत्वले काम गर्ने अपेक्षा गरिएको छ।

गैरआवासीय नेपाली (NRN) लाई नेपालको सेयर बजारमा सहज पहुँच उपलब्ध गराउने विषय पनि लामो समयदेखि चर्चामा छ।

एनआरएन परिचयपत्रकै आधारमा बैंक खाता, डिम्याट खाता तथा दोस्रो बजारमा कारोबार गर्न सक्ने वातावरण बनाउने विषयमा डा. भट्ट सकारात्मक देखिन्छन्। तर यसका लागि अहिले कायम रहेको २५ प्रतिशत पुँजीगत लाभकर (Capital Gains Tax) पुनरावलोकन गर्नुपर्ने माग पनि उठिरहेको छ।

विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न कर संरचना प्रतिस्पर्धी हुन आवश्यक छ।

डा. भट्टको अर्को महत्वपूर्ण धारणा ब्रोकरमार्फत मार्जिन लेन्डिङ सञ्चालन गर्नुपर्ने भन्ने रहेको छ।

हाल लगानीकर्ताले बैंकबाट प्रत्यक्ष सेयर धितो कर्जा लिने व्यवस्था छ। तर विकसित बजारमा जस्तै ब्रोकरले बैंकबाट ऋण लिएर लगानीकर्तालाई मार्जिन सुविधा उपलब्ध गराउने व्यवस्था लागू गर्न सके बजारको तरलता र कारोबार दुवै बढ्न सक्ने विश्वास गरिएको छ।

नेपालको सेयर बजारमा देखिएको अर्को प्रमुख समस्या भनेको न्यून सार्वजनिक निष्कासन (Low Public Float) हो।

धेरै हाइड्रोपावर, होटल तथा उत्पादनमूलक कम्पनीहरूले न्यून प्रतिशत सेयर मात्रै सर्वसाधारणमा जारी गर्ने गरेका छन्। त्यसमा पनि संस्थापक सेयर लामो समय ‘लकइन’ हुने व्यवस्था भएकाले बजारमा वास्तविक आपूर्ति अत्यन्त कम हुन्छ।

यसले गर्दा सीमित कित्तामा उच्च माग सिर्जना भई कतिपय कम्पनीको मूल्य वास्तविक वित्तीय अवस्थाभन्दा धेरै माथि पुग्ने गरेको देखिन्छ।

विशेषज्ञहरूका अनुसार कम्पनीका सबै सेयर सुरुदेखि नै कारोबार योग्य बनाउने वा सार्वजनिक सेयरको अनुपात बढाउने विषयमा नीतिगत सुधार आवश्यक छ।

नेपालको बजार अहिले ‘वान वे मार्केट’ का रूपमा सञ्चालन भइरहेको छ। अर्थात् लगानीकर्ताले मूल्य बढ्दा मात्र नाफा कमाउन सक्छन्।

विकसित बजारमा भने सर्ट सेलिङ, डेरिभेटिभजस्ता उपकरणमार्फत बजार घट्दा पनि कारोबार गर्न सकिने व्यवस्था हुन्छ। डा. भट्ट स्वयंले विगतमा सर्ट पोजिसन र आधुनिक बजार संरचनाको आवश्यकता औंल्याउँदै आएका छन्।

यद्यपि नेपालको बजार त्यसका लागि कति तयार छ भन्ने विषयमा थप अध्ययन आवश्यक देखिन्छ।

पछिल्लो समय पूँजी बजारमा कारोबार रकम उल्लेख्य रूपमा घटेको छ। लगानीकर्ताको मनोबल कमजोर बनेको छ भने विभिन्न अनुसन्धान तथा कानुनी कारबाहीका कारण बजारमा अन्योलता पनि देखिएको छ।

यस्तो अवस्थामा नयाँ अध्यक्षको पहिलो जिम्मेवारी लगानीकर्ताको विश्वास पुनःस्थापित गर्नु हुनेछ। त्यसपछि बजार सुधार, नयाँ वित्तीय उपकरणको विकास, संस्थागत लगानीकर्ता विस्तार तथा नियामकीय सुधारलाई प्राथमिकतामा राख्नुपर्ने अपेक्षा गरिएको छ।

पूँजी बजारसम्बन्धी गहिरो अध्ययन, राष्ट्र बैंकको अनुभव र स्वच्छ छविका कारण डा. गोपाल भट्टप्रति बजारले ठूलो आशा राखेको छ। अब उनको नेतृत्वले नेपाली पूँजी बजारलाई नयाँ दिशा दिन सक्छ कि सक्दैन भन्ने प्रश्नको उत्तर आगामी कार्यसम्पादनले दिनेछ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स