राष्ट्रियसभाका सांसदहरुले बाढीपहिरोबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत र पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकमा उनीहरुले जनजीविकाका सवालमा आफ्नो धारणा राखेका थिए ।
बैठकमा नेकपा (एमाले) का सांसद शारदादेवी भट्टले सुदूरपश्चिमको दुर्गम भेगका बासिन्दा जीविकोपार्जन गर्न भारतका विभिन्न स्थानमा गई जोखिमपूर्ण काम गर्न बाध्य भएको उल्लेख गर्दै यसको समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य र विशेष समयमा बोल्दा पनि सुनुवाइ नुहुने गरेको उनको गुनासो थियो ।
नेकपा (माओवादी केन्द्र) का सांसद जगतबहादुर पार्कीले संसद्का दुई ठूला पार्टी मिलेर नयाँ सरकार बनेकाले वर्तमान सरकारले उठाएको संविधान संशोधनको विषय समयानुकुल नभएको उल्लेख गरे । उनले सङ्घीयता र समानुपातिक प्रणालीलाई दोष दिएर मुुलुकमा स्थिरता नहुने भन्दै संविधानको प्रभावकारी कार्यान्वयनमा जोड दिन सुझाव दिएका छन् ।
नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले नयाँ सरकारले सात बुँदे सहमतिलाई अक्षरसः पालना गर्नुपर्नेमा जोड दिए । उपसभामुख इन्दिरा रानामगरका सम्बन्धमा सार्वजनिक भएको विषय सही भए पदबाट राजीनामा दिन उपयुक्त हुने उनको भनाइ थियो । सांसद मिश्रले बाढीपहिरोबाट हुने विपद्बाट जोगाउन पहाडमा गाउँगाउँमा डोजर आतङ्क बन्द गर्नुपर्ने सुझाव दिएका छन् ।
सांसद मदनकुमारी शाह (गरिमा)ले मुलुकुभर प्राकृतिक विपदमा परेर जनधनको क्षति भइरहेको भन्दै जुनसुकै समयमा विपद्का घटना घट्नसक्ने भएकाले सरकारले सचेतना अपनाउनुपर्नेमा जोड दिए । “प्राकृतिक विपद्का कारण अन्नबाली उत्पादनमा क्षति हुँदा खाद्यान्न सङ्कट भइरहेको छ, यसको पूर्व तयारीका लागि जोड दिन्छु ।” उनले विदेशमा अप्ठ्यारोमा परेका महिलाको उद्धार गर्न आग्रह गरेका छन् ।
















प्रतिकृया