प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राति विश्वप्रसिद्ध उद्यमी र स्पेस एक्सका संस्थापक एलन मस्कसँग भर्चुअल संवाद गरेका छन्। यो संवाद नेपालमा स्याटलाइट इन्टरनेट सेवा विस्तार गर्ने स्टारलिंक परियोजनाको विषयमा केन्द्रित रहेको बुझिएको छ।
एलन मस्कको स्टारलिंक कम्पनीले नेपालमा स्याटलाइट इन्टरनेट सेवा उपलब्ध गराउन दुई वर्षदेखि प्रयास गरिरहेको छ। यसै क्रममा कम्पनीले सरकारसँग सहकार्यका लागि पटक–पटक प्रयास गरिरहेको छ। स्टारलिंकका प्रतिनिधिहरूले सूचना तथा सञ्चारमन्त्री र प्रधानमन्त्रीलाई भेट गरी कानुनी प्रक्रिया सहज बनाउन आग्रह गरेका थिए।
स्टारलिंक नेपालमा शतप्रतिशत स्वामित्व रहेको कम्पनीसहित नेपालमा आउन चाहिरहेको छ। तर नेपालको दूरसञ्चार ऐनमा कुनै पनि दूरसञ्चार कम्पनीले नेपालमा सेवा दिँदा २० प्रतिशत सेयर नेपालीको हुनैपर्ने व्यवस्था छ । स्टारलिंक नेपालमा पूर्ण स्वामित्व लिएर प्रवेश गर्न भरपूर बल पनि प्रयोग गरिरहेको छ।
यसअघि, गत कात्तिक १० गते स्टारलिंकका प्रतिनिधिहरूले प्रधानमन्त्री र मन्त्रीहरूसँग भेटघाट गर्दै सेवा सम्बन्धी ‘डेमो’ प्रस्तुत गरेका थिए। त्यसकै निरन्तरतामा प्रधानमन्त्री ओली र एलन मस्कबीच शुक्रबार संवाद भएको बुझिएको छ।
यता, नेपालमा स्टारलिंकको इन्टरनेट सेवा प्रवेश रोक्न छिमेकी राष्ट्र चीनले पनि चासो देखाएको छ। अर्कोतर्फ चीनको सरकारी स्वामित्वमा रहेको कम्पनी स्पेससेलपनि विश्वव्यापी रूपमा स्याटेलाइट इन्टरनेट विस्तारमा तिव्रता दिइरहेको छ।



















प्रतिकृया