नेपाल विद्युत प्राधिकरणको अगुवाइमा संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १,०६३ मेगावाट माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाका लागि १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर गैरआवासीय नेपाली (एनआरएन) र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गर्ने प्रस्ताव गरिएको छ। आयोजना निर्माणको लागत व्याजबाहेक १ अर्ब ५१ करोड २७ लाख अमेरिकी डलर अनुमान गरिएको छ, जुन हालको विनियमन दर अनुसार २ खर्ब १३ अर्ब २९ करोड रुपैयाँ हुन्छ। व्याजसहित कुल लागत २ खर्ब ३९ अर्ब ७९ करोड रुपैयाँ रहनेछ, जसमा स्वःपूँजी ३० प्रतिशत (७१ अर्ब ९४ करोड) र ७० प्रतिशत ऋण (१ खर्ब ६७ अर्ब ८५ करोड) व्यवस्थापन गर्ने प्रस्ताव छ।
आयोजनाको स्वदेशी इक्विटी ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत साधारण सेयरबाट सङ्कलन हुनेछ। साधारण सेयरमध्ये १८ प्रतिशत एनआरएन/वैदेशिक रोजगारी, १० प्रतिशत आयोजना प्रभावित क्षेत्र, १८ प्रतिशत देशभरका सर्वसाधारण, २ प्रतिशत पिछडिएको क्षेत्र र १ प्रतिशत प्रवर्धक निकायका कर्मचारीलाई छुट्याइएको छ।
आयोजनाबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट विद्युत उत्पादन हुने अनुमान छ। हाल विद्युतगृह र २१ किलोमिटर पहुँच सडक, साथै अरुण नदीमा ७० मिटर लम्बाइको स्टील आर्क पुल निर्माणाधीन छ। वित्तीय व्यवस्थापन मिश्रित लगानी प्रणालीमार्फत लागत कम र जोखिम न्यूनीकरण गर्दै सञ्चालन हुने प्रस्ताव गरिएको छ।




















प्रतिकृया