रास्वपा दुई तिहाइ नजिक हुँदा सेयर बजारमा उछाल, वाचापत्रमा सेयर बजार सम्बन्धि के छ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २५ गते
रास्वपा दुई तिहाइ नजिक हुँदा सेयर बजारमा उछाल, वाचापत्रमा सेयर बजार सम्बन्धि के छ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्ष र समानुपातिक सिट जोड्दा संसदमा दुई तिहाइ नजिक पुगेको अवस्थामा सेयर बजारमा उत्साह देखिएको छ।

आज पहिलो सर्किट ब्रेक लागेर २० मिनेट बन्द भएको बजार पुनः खुल्नेबित्तिकै तीव्र बढोत्तरी देखिँदा दोश्रो पटक सर्किट ब्रेक लागेको हो। दोस्रो सर्किट लागेसँगै कारोबार ४० मिनेटका लागि बन्द भएको छ।

सर्किट लागेर नेप्से परिसूचक १३५.७२ अंकले अंकले बढेर २८४८.२२ अङ्कको विन्दुमा पुगेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावअघि सार्वजनिक गरेको वाचापत्रमा पुँजी बजारलाई प्रोत्साहन गर्ने विभिन्न नीतिहरू घोषणा गरेको छ।

पार्टीले लगानीकर्ताको लगानी संरक्षण गर्ने, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना गर्ने तथा इनसाइडर ट्रेडिङ र बजार हेरफेरविरुद्ध शून्य सहनशीलताको नीति लागू गर्ने प्रतिबद्धता जनाएको छ।

त्यस्तै, आइपिओ प्रणालीमा सुधार गर्दै निष्पक्ष बाँडफाँट, बुक बिल्डिङ प्रक्रियामा सुधार तथा कम्पनीहरूलाई समयमै सूचीकरण गर्ने व्यवस्था मिलाउने उल्लेख गरिएको छ।

वाचापत्रमा पुँजी बजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउने लक्ष्यसहित नियामक सुधार, प्रविधिमैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र बलियो बनाउने उल्लेख छ। साथै नेपाल धितोपत्र बोर्ड को संरचना पुनर्गठन गर्दै आवश्यक जनशक्ति, कार्यक्षमता र स्वायत्तता बढाउने योजना पनि राखिएको छ।

यसैगरी नेप्से र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को पुनर्संरचना गरी निजी क्षेत्रको सेयर सहभागिता बढाउने र प्रतिस्पर्धात्मक डिपोजिटरी सेवा विकास गर्ने योजना पनि वाचापत्रमा समेटिएको छ।

रास्वपाले इन्ट्राडे कारोबार, सर्ट सेलिङ, फ्युचर्स र अप्सनजस्ता डेरिभेटिभ वित्तीय उपकरणहरू चरणबद्ध रूपमा सुरु गर्ने तथा नेप्सेलाई अन्तर्राष्ट्रियस्तरको बजार बनाउने लक्ष्य राखेको छ।

त्यस्तै पुँजी बजार कर नीति लगानीमैत्री बनाउने, गैरआवासीय नेपाली (NRN) लाई सेयर कारोबारमा सहभागी गराउने, र कमोडिटी मार्केट सञ्चालनमा ल्याउने घोषणा पनि गरिएको छ।

संस्थागत लगानीकर्ता विस्तार गर्न पेन्सन फन्ड, बिमा कम्पनी र म्युचुअल फन्डलाई सक्रिय लगानी गर्न प्रोत्साहन गर्ने योजना रहेको उल्लेख छ। साथै बन्ड बजार विकास, इन्फ्रास्ट्रक्चर बन्डमार्फत दीर्घकालीन परियोजनामा लगानी जुटाउने नीति पनि अघि सारिएको छ।

साना लगानीकर्ताको हित संरक्षणका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने प्रतिबद्धता पनि रास्वपाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स