अब बैंक तथा वित्तीय संस्थाले खाता रोक्का गर्न ढिलाइ गर्न नपाउने भएका छन्। वित्तीय अपराधसँग सम्बन्धित खाता तत्काल रोक्का गर्न बैंकहरूले २४सै घण्टा काम गर्ने व्यवस्था मिलाउनुपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का गर्ने व्यवस्थालाई थप कडा बनाउँदै एकीकृत निर्देशन, २०८२ मा संशोधन गरेको हो। नयाँ व्यवस्थाअनुसार कुनै व्यक्ति वा संस्थाको खाता वित्तीय अपराधसँग सम्बन्धित देखिएमा अनुसन्धान गर्ने निकाय (जस्तै प्रहरी) को अनुरोधपछि बैंकले तत्काल खाता रोक्का गर्ने प्रक्रिया अघि बढाउनुपर्नेछ।
“इजाजतपत्रप्राप्त संस्थाले वित्तीय अपराध न्यूनीकरणका लागि आवश्यक समन्वय गर्न कुनै कसुरको अनुसन्धान गर्ने वा कानुन कार्यान्वयन गर्ने अधिकारीको मौखिक/लिखित अनुरोधमा वित्तीय अपराधसँग सम्बन्धित बैंक खाता अल्पकालीन अवधिका लागि रोक्का राख्न कार्य गर्ने गरी आवश्यक व्यवस्था मिलाउनु पर्नेछ । त्यस्ता कार्यका लागि आफ्नो वेबसाइटमा राख्नुपर्नेछ ।” निर्देशनमा भनिएको छ।
यसका लागि बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइटमा छुट्टै सम्पर्क नम्बर राख्नुपर्नेछ। प्रहरी वा सम्बन्धित अनुसन्धान निकायले सोही नम्बरमार्फत जुनसुकै समयमा सम्पर्क गरी खाता रोक्का गर्न अनुरोध गर्न सक्नेछन्।
यसअघि कार्यालय समय सकिएपछि वा सार्वजनिक बिदाका दिन खाता रोक्का गर्न ढिलाइ हुने अवस्था थियो। यस्तो ढिलाइ हुँदा ठगीबाट प्राप्त रकम अर्को खातामा सारिन सक्ने जोखिम रहन्थ्यो। नयाँ व्यवस्थाले यस्तो जोखिम कम गर्ने उद्देश्य राखेको छ।
त्यस्तै, अनुसन्धान गर्ने निकायले कुनै खाताको विवरण मागेमा बैंक तथा वित्तीय संस्थाले छिटो उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।


प्रतिकृया