राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गरिएको छ। प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय कास्कीले मुद्दा दर्ता गरेको हो।
सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भए लामिछानेले आजीवन रास्वपा सदस्यता गुमाउन सक्ने खतरा छ। रास्वपा विधानको धारा १३ अनुसार, ‘भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन, लागुऔषध कारोबार, सम्पत्ति शुद्धीकरण, अपहरण, हत्या वा नैतिक पतनसँग सम्बन्धित कसुरमा सजाय पाएको व्यक्ति’ पार्टी सदस्य बन्न अयोग्य ठहरिने व्यवस्था छ। यद्यपि, यस्ता कसुरबाहेक अन्य अभियोगमा सजाय पाएको व्यक्ति सजाय भुक्तान गरेको एक वर्षपछि सदस्य हुन सक्ने प्रावधान पनि रहेको छ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधन सहित)को दफा २७ अनुसार लामिछानेको सांसद पद स्वतः निलम्बन भएको छ। उक्त दफामा कुनै संगठित संस्थाका पदाधिकारी, कर्मचारी, वा राष्ट्रसेवक थुनामा रहेको वा मुद्दा दायर भएको अवस्थामा त्यसको किनारा नभएसम्म स्वतः निलम्बन हुने व्यवस्था छ।
लामिछानेमाथि २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको आरोप लगाइएको छ। यससँगै, सम्पत्ति शुद्धीकरणको मुद्दामा बिगो मागदाबी गरिएको छ। अदालतमा मुद्दा दायर भएपछि लामिछानेको राजनीतिक भविष्य र पार्टी सदस्यतामा गम्भीर प्रश्न उठेको छ।


प्रतिकृया