राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले रास्कोट अस्पतालमा कुनै हिनामिनाको सम्भावना नरहेको स्पष्ट पारेका छन्। रास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेसनको गतिविधिबारे आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै उनले रास्कोट अस्पतालको आर्थिक सञ्चालनमा पूर्ण पारदर्शिता रहेको दाबी गरेका छन्।
ढकालका अनुसार रास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेसन दुई अलग-अलग संस्था हुन्। उनले भने, “रास्कोट अस्पतालमा पैसा पुगेपछि टेन्डर प्रक्रियाबाट मात्रै खर्च गरिएको छ। त्यसैले कुनै पनि हिनामिनाको सम्भावना छैन।”
तर उनले रवि लामिछाने फाउन्डेसनमा भने आर्थिक अनियमितताको शंका आफूलाई पहिल्यै लागेको बताएका छन्। उनले फाउन्डेसनको सम्भावित हिनामिनाबारे तत्कालीन अध्यक्ष रवि लामिछानेलाई लिखित जानकारी गराएको दाबी गरेका छन्। “दुवै संस्थाको सञ्चालक समितिमा म सदस्य थिएँ। केही चेकमा मेरो हस्ताक्षर छ। तर, मैले हस्ताक्षर गरेका कुनै पनि चेक हिनामिनामा संलग्न छैनन् र यसको पूरै जिम्मेवारी म लिन्छु,” उनले भने।
ढकालले रास्कोट अस्पताल र फाउन्डेसनसँग सम्बन्धित आर्थिक विषयहरूमा रवि लामिछाने, डीपी अर्याल, दीपक बोहोरा, निकिता पौडेल र आफूमाथि छानबिन गर्न आग्रह पनि गरेका छन्।


प्रतिकृया