आजको समयमा पैसा कत्तिको महत्वपूर्ण हुन्छ भन्ने कुरा सबैलाई थाहा छ। त्यो कुरा छोराछोरीलाई पनि सानै उमेरदेखि बुझाउन सकियो भने उनीहरू भविष्यमा जिम्मेवार र आत्मनिर्भर बन्छन्। पैसाको मूल्य बुझाउने र बचत गर्ने बानी बसाल्न अभिभावकले यस्ता तरिकाहरु अपनाउन सक्छन्।
सबैभन्दा पहिले छोराछोरीलाई पिग्गी बैंक वा खुत्रुके दिनुपर्छ। बच्चाले पकेटखर्च वा आफन्तबाट प्राप्त गरेको पैसामध्ये केही प्रतिशत पिग्गी बैंकमा राख्ने बानी बसाल्नुपर्छ।
कतिपय अभिभावकहरूले आफ्ना छोराछोरीलाई पैसाको अभावबारे वा पैसा सजिलै कमाउन सकिँदैन भन्ने वास्तविकता थाहा दिन नै चाहँदैनन्। आफूले जस्तो दु:ख र संघर्ष छोराछोरीले गर्नु नपरोस् भन्ने सोचाई अभिभावकहरुले राखेको पाईन्छ। तर यसरी लुकाउँदा छोराछोरीले पैसाको महत्व बुझ्दैनन्। त्यसैले सानै उमेरदेखि नै छोराछोरीलाई पैसा कति मेहनत गरेर कमाइन्छ र अभावमा के–कस्तो समस्या आउँछ भन्ने कुरा बुझाउनुपर्छ। यसले गर्दा उनीहरूमा पैसाप्रति जिम्मेवारीको भावना र बचत गर्ने बानीको विकसित हुन्छ।
तर केवल पैसा जम्मा गर्न लगाउनु मात्र पर्याप्त हुँदैन। उनीहरूलाई किन बचत गर्नुपर्छ भन्ने पनि बुझाउनुपर्छ। त्यसका लागि बचतलाई उनीहरूको चाहनासँग जोड्न सकिन्छ। जस्तै छोरीलाई ५०० रुपैयाँको रंगीचंगी पिक्चर बुक चाहिएको छ भने “तिमीले हप्तामा ५० रुपैयाँ जम्मा गर्यौ भने दुई महिनामा यो बुक किन्न सक्छौ” भन्न सकिन्छ।
छोराछोरीको एक्साइटमेन्ट अझ बढाउन इनामको व्यवस्था गर्ने । उदाहरणका लागि, “यदि तिमीले एक महिना नियमित रूपमा पैसा जम्मा गर्यौ भने म शनिबार तिमीलाई मनपर्ने ठाउँ घुमाउन लान्छु।” भन्न सकियो ।
छोराछोरीको उमेर बढ्दै जाँदा उनीहरूको नाममा बैंक खाता खोलेर पिग्गी बैंक वा खुत्रुकेमा जम्मा गरेको पैसा बैंक खातामा सार्न लगाउने।
त्यस्तै सानैदेखि बैंक खाता र डिम्याट खाता खोलेर उनीहरुको नाममा आईपिओ/एफपीओ भरिदिने, एसआईपी गरिदिने। अलि बुझ्ने भईसकेपछि उनीहरु आफैलाई आईपिओ, एफपीओ भर्न लाउने, लगानीको महत्व बुझाउने गरियो भने उनीहरुमा पैसा बचाउनुपर्छ र लगानी गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै जान्छ।















प्रतिकृया