सरकारले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को पुनर्संरचनासम्बन्धी सुझाव समितिले पेश गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो।
बैठकपछि जानकारी दिँदै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले ‘नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचनासम्बन्धी सुझाव समिति–२०८२ ले पेश गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरिएको’ बताए।
यसअघि अर्थमन्त्री रामेश्वर खनालको प्रस्तावमा मङ्सिर २ गते बसेको मन्त्रिपरिषद् बैठकले नेप्सेको पुनर्संरचनाका लागि आवश्यक अध्ययन गरी सुझाव पेश गर्न समिति गठन गर्ने निर्णय गरेको थियो। प्रकाशजंग थापाको संयोजकत्वमा गठन गरिएको उक्त समितिले आफ्नो अध्ययन पूरा गरी सरकारसमक्ष प्रतिवेदन बुझाइसकेको छ।
समितिमा नेपाल धितोपत्र बोर्डबाट कार्यकारी निर्देशक रुपेश केसी, नेप्सेबाट प्रवक्ता मुराहरी पराजुली, नेपाल राष्ट्र बैंकबाट निर्देशक सुभाषचन्द्र घिमिरे सदस्य रहेका थिए भने नेपाल धितोपत्र बोर्डका अवकाशप्राप्त कार्यकारी निर्देशक निरज गिरी विज्ञ सदस्यका रूपमा सहभागी थिए। अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका उपसचिव शरद निरौला समितिको सदस्य सचिव रहेका थिए।















प्रतिकृया