नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा हाल देखा परेका समस्याहरू र लगानीकर्ताहरूको गुनासो प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बजारमा देखिएका समस्याहरूको समाधान र लगानीकर्ताको हकहित संरक्षणका लागि बोर्डले गम्भीर रूपमा गृहकार्य गरिरहेको र आगामी सातासम्ममा समयबद्ध कार्ययोजना सहित विस्तृत रूपमा पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गरी तत्कालै कार्यान्वयनमा लैजाने योजना बनाएको सूचनामा उल्लेख छ।
बोर्डबाट अनुमति पत्र प्राप्त धितोपत्र व्यवसायी लगायत सम्बद्ध संस्थाहरूलाई मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा दिइएका निर्देशन अनुरूपका कामहरू तोकिएको समयमै सम्पादन गराउन बोर्ड सक्रिय भएको छ। स्वस्थ, सुरक्षित एवं प्रभावकारी पुँजी बजारको वातावरण बनाउनका लागि धितोपत्रको सार्वजनिक निष्काशन प्रक्रिया र नियमन व्यवस्थालाई व्यवस्थित गर्न विद्यमान ऐन, नियमावली र संस्थागत सुशासन सम्बन्धी निर्देशिकाहरूमा समसामयिक पुनरावलोकन गर्ने कार्य प्रारम्भ भइसकेको जानकारी बोर्डले दिएको छ।
बोर्डले लगानीकर्ताहरूको हित संरक्षणलाई उच्च महत्व दिएको उल्लेख गर्दै बजारमा चल्ने हल्ला, बहकाउ तथा अफवाहहरूको पछि नलाग्न अनुरोध गरेको छ। लगानीकर्ताहरूलाई आफ्नै अध्ययन, विश्लेषण र जोखिम वहन क्षमतालाई ध्यानमा राखेर सुझबुझ पूर्ण ढंगले लगानी सम्बन्धी निर्णय लिन समेत बोर्डका प्रवक्ता निरञ्जय घिमिरेद्वारा २०८३/०३/२५ मा जारी विज्ञप्ति मार्फत आह्वान गरिएको छ।
थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:

