नेपाल वायुसेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानका यात्रुहरूका लागि टेलिफोन कलमार्फत सिधै हवाई टिकट बुकिङ तथा खरिद गर्न सकिने नयाँ सेवा सुरु गरेको छ। निगमले आफ्ना सेवाहरूलाई थप सुदृढ र परिष्कृत बनाउने उद्देश्यका साथ यो सुविधा ल्याएको सूचनामा उल्लेख छ। यात्रुहरूले आगामी २०८३ श्रावण ११ (२७ जुलाई, २०२६) गतेदेखि यो सेवा प्रयोग गर्न सक्नेछन्। यसअघि निगमको कार्यालय, वेबसाइट, मोबाइल एप र ट्राभल एजेन्टहरूबाट मात्र टिकट खरिद गर्न सकिने व्यवस्था रहेकोमा अब फोन कलको माध्यमबाट पनि टिकट काट्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
यो सेवा अन्तर्गत टिकट खरिद गर्नका लागि यात्रुहरूले कार्यालय समयभित्र ९७७-०१-५७१८५३८ मा सम्पर्क गर्नुपर्नेछ। फोन गरेपछि यात्रुले आफ्नो गन्तव्य, सिटको उपलब्धता र भाडादरबारे बुझ्नुपर्ने हुन्छ। त्यसपछि आवश्यक विवरणहरू जस्तै इमेल, मोबाइल नम्बर र आवश्यक कागजातहरू (राहदानी तथा भिसा) उपलब्ध गराउनुपर्ने सूचनामा जनाइएको छ। विवरण उपलब्ध गराएपछि निगमले भुक्तानीका लागि ग्राहकको मोबाइलमा क्युआर कोड पठाउनेछ। भुक्तानी सम्पन्न भएपछि यात्रुले घरमै बसी आफ्नो हवाई टिकट प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ।
थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:


