महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो कार्यप्रणालीलाई थप व्यवस्थित बनाउन सिकाई व्यवस्थापन प्रणाली (एलएमएस) र मानव संसाधन सूचना प्रणाली (एचआरआईएस) जडान गर्ने उद्देश्यले इच्छुक तथा योग्य कम्पनीहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरेको छ। बैंकले २०८३ भदौ ३ गते एक सूचना जारी गर्दै यी दुई छुट्टाछुट्टै प्रणाली कार्यान्वयनका लागि प्रस्ताव पेश गर्न आव्हान गरेको हो। इच्छुक फर्म वा कम्पनीले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयभित्र बोलपत्र खरिद गरी दर्ता गराइसक्नुपर्ने सूचनामा उल्लेख छ।
बोलपत्र सम्बन्धी कागजातहरू बैंकको केन्द्रीय कार्यालय, थापाथलीस्थित सामान्य प्रशासन विभागबाट कार्यालय समयभित्र प्रति सेवा तीन हजार रुपैयाँ (फिर्ता नहुने गरी) बुझाएर खरिद गर्न सकिनेछ। बोलपत्र वापतको रकम बैंकको खाता नम्बर ९९९-२०४०१०१०२०१ (खाताको नाम: Miscellaneous Deposit Receipt) मा जम्मा गर्नुपर्नेछ। एचआरआईएस प्रणालीको बोलपत्रका साथमा कुल बोलपत्र रकमको न्यूनतम ५ प्रतिशत बराबरको बिड बण्ड संलग्न हुनुपर्नेछ, जसको अवधि १२० दिनको हुनुपर्नेछ। बिड बण्डको रकम बैंकको खाता नम्बर ९९९२१६०७०३१०१७ (खाताको नाम: Miscellaneous Sundry Creditors) मा नगद मार्जिनको रूपमा समेत जम्मा गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ।
आवेदन दिने बोलपत्रदाताका लागि निश्चित न्यूनतम योग्यता तोकिएको छ। जसअनुसार नेपालमा दर्ता भएको कम्पनीको हकमा कम्पनी ऐन, २०६३ अन्तर्गत र विदेशी कम्पनीको हकमा सम्बन्धित देशको कानुन बमोजिम कम्तीमा ५ वर्षदेखि दर्ता भई सञ्चालनमा रहेको हुनुपर्नेछ। यसैगरी बोलपत्रदाताको गत आर्थिक वर्षमा वार्षिक कारोबार न्यूनतम १० मिलियन (एक करोड) रुपैयाँ हुनुपर्ने र विगत तीन वर्षदेखि नाफामा रहेको हुनुपर्नेछ। साथै प्रस्तावित सफ्टवेयर समाधान नेपालका कम्तीमा तीनवटा बैंक तथा वित्तीय संस्थाहरूमा सफलतापूर्वक कार्यान्वयन भई हाल सञ्चालनमा रहेको हुनुपर्ने शर्त राखिएको छ।
थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:

