को हुन् गभर्नरको चर्चामा रहेका डा. विश्व पौडेल ? [भिडियो]

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ३० गते

अब ठूलो राजनीतिक फेरबदल नभए नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा कांग्रेस निकट अर्थशास्त्री डा. विश्व पौडेल नियुक्त हुने पक्का जस्तै भएको छ। उनी परराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवा निकट मानिन्छन्।

गभर्नर कसले लिने भन्नेमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच ठूलो रस्सा कस्सिनै भयो। कांग्रेस भित्र गभर्नर आफूले पाउनुपर्ने विषय जोड तोडका साथ उठ्यो। गत चैत्र ८ गरेको एक कार्यक्रममा कांग्रेस नेता शेखर कोइरालाले सरकार सञ्चालनमा कांग्रेसको भूमिका कमजोर भएको बताउँदै सभापति देउवालाई गभर्नर नियुक्तिका ध्यान दिन आग्रह गरे। 

गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिनै दुई दिन अघि चैत्र २२ गतेबाट राष्ट्रबैंकबाट बिदाबारी भए। गभर्नरको पद रिक्त हुनु एक महिनाअघि नै नयाँ गभर्नर नियुक्ति गरी सार्वजनिक सूचनामार्फत जानकारी गराउनुपर्ने कानूनी प्रावधान छ ।  गठबन्धनमा दुई दलबीच सहमति नजुट्दा राष्ट्र बैंक गभर्नर विहिन भएको एक महिना बढी भएको छ। अहिले राष्ट्र बैंक कामू गभर्नर डा निलम ढुङ्गानाले चलाई रहेको छन्।

गर्भनर विहिन रहेको राष्ट्रबैंक भित्र अहिले कसैले कसैलाई नटेर्ने परिस्थिति सृजना भएको राष्ट्रबैंकका एक डेपुटी डाइरेक्टर बताउँछन्। कांग्रेस र एमालेको असक्षमताको कारण अहिले मौद्रिक नीतिको तेश्रो समीक्षा समेत अन्योलपूर्ण बनेको छ। 

एमाले कांग्रेस गठबंधन बीचको खटपटका कारण गभर्नर नियुक्तिको विषयमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली कांग्रेसलाई गिज्याउनेमा देखिएनन्। एमाले गभर्नर कांग्रेसलाई दिनेमा स्पष्ट बनेको थियो र कांग्रेस सभापति शेर बहादुर देउवाले चाहेको व्यक्तिनै गभर्नर बन्ने भए। तर यसबीच धेरै पात्रलाई उचाल्ने र पछार्ने काम भयो। 

गभर्नर बन्ने आस सहित विभिन्न पात्रहरूले विभिन्न शक्ति केन्द्र मनाउन थाले। यसबीच धेरैजनाको नाम उचालिने र पछारिने काम भयो। यी गभर्नर नियुक्ति सम्बन्धी तीन विषय न्यायालय सम्म पुगे। 

गभर्नरका लागि सुरुमा पूर्वमुख्यसचिव राजेन्द्र किशोर क्षेत्री र हालका राष्ट्र बैंकका सञ्चालक रवीन्द्रनाथ पाण्डे चर्चाको पात्र बने। ५८ वर्षे उमेर हदका कारण २०७४ सालमा अवकाश पाएका क्षेत्री र २०६८ सालमा राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका पाण्डेमध्य कुनै एकलाई गभर्नरमा सिफारिश गर्नका लागि सरकारले ‘अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ संशोधन गरेर उमेर हद हटायो। संशोधित मापदण्डविरुद्ध अदालतमा मुद्दा पर्‍यो । सर्वोच्चले उक्त मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो।

त्यसपछि नबिल बैंकका पूर्व सीईओ ज्ञानेन्द्र ढुंगाना, राष्ट्र बैंकका डेपुटी तथा हाल कामु गभर्नर डा निलम ढुंगानाको नाम अगाडि आयो। ज्ञानेन्द्र ढुंगानाले गभर्नर बन्ने सक्दो बल प्रयोग गरे। नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत बाट राजीनामा समेत दिए। तर प्रधानमन्त्री ओलीले अति विवादित पृष्ठभूमि बाट नियुक्त नगर्ने भनेपछि उनको नियुक्तिको च्याप्टर क्लोज भयो। यता डेपुटी गभर्नर समेत रहेकी कामु गभर्नर निलम ढुंगानाले राष्ट्र बैंकको नेतृत्वले गर्नुपर्ने बोल्ड निर्णय गर्न नसक्ने भन्दै उनलाई व्याक गरियो। 

यसबीच कांग्रेस र एमाले बीच राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्ने सहमति भएको समाचार बाहिरियो । डा. भट्टले पनि ५ चैतमा राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिए ।

भट्टले राजीनामा दिएको समाचार बाहिरिएपछि सोही दिन अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतिले उमेहद सम्बन्धी रिटमा नै बहालवाला कार्यकारी निर्देशकको गभर्नरको लागि योग्यता नपुग्ने भन्दै भन्दै पूरक निवेदन दर्ता गराए । वैशाख १७ गते बुधबार न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र वालकृष्ण ढकालका इजलासले उक्त पूरक निवेदन अस्वीकार गर्यो। यससँगै डा भट्टलाई गभर्नर बन्न बाटो खुलेको थियो । तर भट्टलाई गभर्नर बनाउन कांग्रेस सभापति देउवा पत्नी आरजु राणानै इच्छुक नदेखिएपछि कांग्रेस उनीबाट व्याक भयो र अगाडि ल्यायो यस अघि कांग्रेसबाटै चुनाव लडेका डा विश्व पौडेल। 

डा. पौडेल चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट गत ०७९ को चुनावमा नेपाली कांग्रेसको उम्मेवार बनेका थिए। कांग्रेसले चितवन १ मा हाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट संसद रहेका पूर्व कांग्रेस निकट अर्थशास्त्री स्वर्णिम वाग्लेलाई टिकट नदिएर पौडेललाई अगाडि सारेको थियो। डा. पौडेल चुनावमा रास्वपाका नव नेता हरि ढकालसँग पराजित बनेका थिए। 

चुनाव हारेपछि डा पौडेल पुनः जनता संग जोडिएर काम गर्ने इच्छा पार्टीमा व्यक्त गरेका थिए। तर तत्कालका लागि त्यस्तो परिस्थिति नबनेपछि उनी काठमाडौं विश्वविद्यालमा प्राध्यापन गर्न सुरु गरे। 

दलमा आबद्ध व्यक्ति काठमाडौं विश्वविद्यालयको प्राध्यापक बन्न नपाउने भएपछि पौडेलले कांग्रेसको सदस्यता त्यागेर प्राध्यापनमा लागेका थिए। 

नयाँ पत्रिकासँगको संवादमा डाक्टर पौडेलले ‘कुनै पनि सार्वजनिक पदमा बसेको व्यक्ति राजनीतिमा आबद्ध हुनुहुँदैन भन्ने पक्षकै मान्छे हो म । यसै पनि दुई वर्षदेखि म सक्रिय राजनीतिबाट अलग छु । पार्टीको कुनै विभागमा समेत छैन । प्राध्यापन गरिरहेको छु ।’ बताएका छन्। 

कांग्रेसले क्रियाशील सदस्यताको नवीकरणका लागि वैशाख १५ गतेसम्मको समयावधि तोकेको थियो । प्राध्यापनमा निरन्तरता दिइरहेको हुँदा पौडेलले सो अवधिमा सदस्यता नवीकरण नगरेको विश्व पौडेल निकट कांग्रेस नेता बताउँछन्।  

शनिबार देउवाले पौडेललाई गभर्नरका लागि सहमति जुटेको जानकारी दिएका थिए। पौडेल सरकारले गठन गरेको गभर्नर नियुक्त गर्ने सिफारिश समितिको सदस्य समेत हुन्। गभर्नर बन्ने पक्का पक्की भएपछि डा. पौडलेले समितिका संयोजक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका छन्। 

काे हुन डा. विश्व पौडेल ?

डा. पौडेल देउवाका विश्वाश पात्र हुन्। यस अघि देउवा प्रधानमन्त्री हुँदा उनी २०७८ साल साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए। पौडेलको देउवा पत्नी आरजु राणासँग व्यक्तिगत रूपमा समेत राम्रो सम्बन्ध भएको बताइन्छ। 

ललितपुरमा परराष्ट्रमन्त्री आरजू राणाको एउटा महंगो निजी स्कुल युलेन्स स्कूल सञ्चालनमा छ । आरजूको उक्त युलेन्स स्कुलमा डा. पौडेलले अगस्ट २०१९ देखि जुलाई २०२१ सम्म बोर्ड अफ ट्रस्टीका रूपमा काम गरेका थिए । 

डा. पौडेल विभिन्न विषयमा सञ्चारमाध्यममा गहन अध्ययन गरेर अर्थतन्त्रका विविध विषयमा लेख र जर्नल प्रकशित गर्दै आएका छन्। सोही कारण उनले छोटो समयमा राम्रो छाप छाड्न सफल भएका हुन्। 

पौडेल नेपालको आर्थिक इतिहास बारे जानकार मानिन्छन्। आर्थिक क्षेत्रसँग जानकारहरु पौडेलले नेपालको आर्थिक इतिहासबारे राम्रो जानकार भएको हुँदा माटो सुहाउँदो नीति लिन सक्ने बताउँछन्। 

के हो उनको शैक्षिक पृष्ठभूमि ? 

डा. पौडेलले अमेरिकाको प्रतिष्ठित युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। त्यसअघि उनले अमेरिकामै अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन गरेका थिए।

उनले चीनको शाङ्हाईस्थित एक विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययन समेत गरेका छन्।

डा. पौडेल चीन र अमेरिकाको अर्थतन्त्र, समाज र इतिहासका अध्येता हुन्। उनी नेपालको आर्थिक इतिहासका गहिरा जानकार पनि मानिन्छन्, विशेष गरी प्रसिद्ध इतिहासकार स्व. महेशचन्द्र रेग्मीको अध्ययन तथा लेखनमा उनको विशेष रुचि र जानकारी छ।

उनले लेखेका अर्थशास्त्र तथा इतिहाससम्बन्धी लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्। उनी साहित्यप्रेमी पनि हुन् र उनका विभिन्न साहित्यिक रचनाहरू समेत प्रकाशित छन्।

काम के गरेका छन् ?

पौडेलले व्यवसायिक जानकारी राख्न प्रयोग गरिने सामाजिक सञ्जाल LinkedIn मा रहेको जानकारी अनुसार उनी २०१२ देखि २०१३ सम्म सानिमा बैंकको डिरेक्टरको रूपमा काम गरेका थिए। त्यसपछि विश्व बैंकको कन्सल्ट्यान्ट, अन्तर्राष्ट्रिय श्रम संगठनको नेपालस्थित कार्यालयमा र मिलेनियम च्यालेन्ज कर्पोरेशनको नेपालस्थित कार्यालयमा पनि अर्थशास्त्रीको रूपमा कार्य गरिसकेका छन्।

सेयर बजार बारेमा विचार?

पौडेलले सेयर बजारलाई पूंजी परिचालन गर्ने माध्यमको रूपमा लिने गरेका छन्। उनले गत वर्ष भदौ १८ गते फेसबुकमा एक पोस्ट गर्दै सेयर बजार वर्षको १०० अर्ब रुपैयाँको राजस्व उठाउने संस्था बन्न सक्ने धारणा व्यक्त गरेका थिए  ।

सोही पोस्टमा धितोपत्र कारोबारमा व्यापक सुधार र अन्तराष्ट्रिय लगानीकर्ताहरुलाई स्वागत गरेर नेपाललाई वित्तीय केन्द्र बनाउने पुरानो सपना फेरी ब्यूँताउन सकिने अवधारणा अघि सारेका थिए। 

पौडेलले २०२० डिसेम्बेर ७ मा एक पोस्ट गर्दै नियमकिय भूमिकाको अभ्यासमा समेत टिप्पणी गरेका थिए । फेसबुकमा उनले लेखेका छन्, “शेयर मार्केटमा कम्पनी र शेयरहरुको संख्या बढाउने, इन्साइडर ट्रेडिङ गर्नेलाई कारबाही गर्ने, अनलाइन ट्रेडिङ र मार्जिन लेन्डिङ जस्ता सुविधा बढाउने, ब्रोकरेज हाउसहरुमा प्रतिस्पर्धा बढाउने र कमिसन कम गर्ने जस्ता काम गर्नु सेबोन र राष्ट्रवैंकको दायित्व हो। अन्धाधुन्ध वक्तव्यवाजी गर्ने र बजारमा अस्थिरता ल्याउने काम यि संस्थाको हैन।”

पौडेलले २०२१  डिसेम्बेर १२ मा हुदा अर्को एक पोस्टमा, सेयर बजारलाई जुवा भन्नु गलत भएको बताउँदै शेयर बजार सम्पत्तिको विविधिकरण गर्ने, तरलता सुनिश्चित गर्ने तथा आर्थिक स्थिरता ल्याउने माध्यम भएको लेखेको थिए। उनले शेयर तथा बैंकमा समान रुपमा लगानी गर्दा आम्दानी स्थिर रहन सक्ने बताएका थिए।

सोहि पोस्टमा उनले, सार्वजनिक व्यक्तिहरुले शेयर बजारबारे अति बोल्न नहुने, जथाभावी अभिव्यक्तिले जनताको सम्पत्तिमा असर पर्न सक्ने हुदा संयमित र जिम्मेवार व्यवहार गर्न आवश्यक रहेको बताएका थिए।

उनले बजारमा धेरै खालका मान्छे हुने गरेको र आफु अनुकुल हुने हल्ला फैलाउने जस्ता काम धेरैले गर्दा, यस्तो अवस्थामा साना लगानिकर्तालाई बचाउनु जरुरी रहेको र सरकारले साना लगानीकर्ताको हक, हित, पहुँच र प्रविधिमार्फत सजिलो कारोबारको सुनिश्चिततामा काम गर्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स