यो पटक भने ब्याजदर बढ्न थालेपछि मात्रै सेयर बजारमा ‘रियल बुल’ आउने विश्लेषण



Advertisement
Ads

केहि हप्ताअघिको कुरा हो। सेयर बजारका अनुभवी जानकार तथा बैङ्किङ्ग क्षेत्रमा लामो समय बिताएर रिटायर्ड भएका एक पूर्व बैंकर सँगको भलाकुसारीका क्रममा उनले ‘यस पटक ब्याजदर बढ्न थालेपछि मात्रै सेयर बजारमा रियल बुल आउने’ आफ्नो विश्लेषण सुनाए। अहिलेको मूख्य समस्या भनेको लगानीकर्तामा देशको अर्थतन्त्र अब ठिकठाक भएर जान्छ र हाम्रा बैंक वित्तिय संस्थाहरु अब तंग्रिदै जान्छन भन्ने विश्वासमा कमी हुनु हो भन्ने उनको विश्लेषण थियो। त्यहि विश्वासको कमीका कारण बैङ्किङ्ग सेक्टर, हाई क्याप विकास बैंक, हाई क्याप माइक्रो फाइनान्स, इन्स्योरेन्स सेक्टर, म्यानुफ्याक्चरिङ्ग सेक्टर चल्न नसकेको ठम्याई उनको थियो।

बैंकहरुले यत्तिकै ब्याज बढाउँदैनन्। जब उनीहरुले कर्जा प्रवाह नै गर्न सकेका छैनन् भने आफ्नै लागत ५% भन्दा माथि परेको खरबौं रकम राष्ट्र बैंकमा ३% ब्याजमा राख्न किन ब्याज बढाउने ? स्मरण रहोस्, बैंकहरुमा अधिक रहेको तरलता ३% ब्याजमा राष्ट्र बैंकमा पार्किङ्ग गर्न पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ। त्यसैले बैंकहरुले त्यो बेला मात्रै निक्षेपको ब्याज बढाउन थाल्नेछन जब कर्जाको माग उच्च रुपमा बढ्न थाल्नेछ। कर्जाको माग बढ्नु भनेको अर्थतन्त्र चलायमान हुने संकेत हो। त्यसैले निक्षेपको ब्याज बढ्न थालेपछि सेयर बजारमा रियल बुल आउने विश्लेषण ती पूर्व बैंकरले सुनाएका थिए।


Advertisement

यो विषयमा सेयर बजारका जानकार सुबाश चन्द्र भट्टराई पनि सहमत देखिन्छन। बजारको चिरफारको ‘अब के हुन्छ’ नामक पोडकास्टमा उनले यो विश्लेषण ठिक रहेको बताएका थिए।

पूर्व बैंकर परशुराम कुँवर क्षेत्रीको बुझाईमा पनि यस पटक यहि नै हुनेवाला छ। ‘हाई क्याप कम्पनीहरु चल्न सेयर बजारमा दैनिक १० अर्ब माथिको कारोबार हुनु जरूरी छ जसका लागि ठूला लगानीकर्ताको मनोबल बढ्नुपर्छ। अब अर्थतन्त्र चलायमान हुने भयो बन्ने संकेत ब्याजदरले दिने कुरामा सहमत हुन सकिन्छ जसले लगानीकर्ताको मनोबल बढाउनेछ’, उनको विश्लेषण छ।

२०७८ साउनमा नेप्सेले आफ्नो अल टाईम हाईको बिन्दु चुम्यो। त्यसपछि नेप्से डाउन ट्रेन्डमा गयो। २०७९ असार ५ मा नेप्से सूचक १८०७ को बिन्दुसम्म झर्यो। त्यो नै नेप्सेको बटम बिन्दु बन्न पुग्यो। २ वर्षसम्म नेप्से इन्डेक्स साइडवेज रह्यो। २०८१ साउन देखि मात्रै नेप्सेले १८०७-२२७८ को साइडवेज ट्रेन्डलाई ब्रेक गर्दै माथितिर लागेको देखिन्छ। नेप्सेले बटम आउट गरेको बिन्दु १८०७ बाट अहिलेको बिन्दु २६८३ सम्म आईपुग्दा नेप्से सूचक ४८% ले बढेको देखिन्छ।

नेप्सेले २ वर्ष लामो साइडवेज ट्रेन्डलाई ब्रेक गर्दै माथितिर लागेकाले बजार बुलिश ट्रेन्डमा गएको विश्लेषण गरिएको छ। तर यसअघिको अल टाईम हाई ३२२७ को बिन्दुलाई ब्रेक गर्दै नेप्से सूचक माथि नलागेसम्म बजारमा रियल बुल आएको मानिदैन।

नेप्सेमा सूचिकृत कम्पनीहरु मध्ये सबैभन्दा धेरै वेटेज बैङ्किङ्ग सेक्टरको छ। बैङ्किङ्ग सेक्टर आफ्नो बटम बाट जम्मा ३३% मात्रै बढेको छ। बैङ्किङ्ग सेक्टर २०७८ को साउनदेखि घट्दो ट्रेन्डमा गयो। नेप्सेमा सूचिकृत अन्य सेक्टरहरु अप ट्रेन्डमा गईसक्दा पनि बैङ्किङ्ग सेक्टर भने डाउन ट्रेन्डमै थियो। टेक्निकल्ली बैङ्किङ्ग सेक्टरले २०८१ को जेठमा मात्रै बटम लगाएको देखिन्छ। त्यतिबेला बैङ्किङ्ग इन्डेक्स १०१० को बिन्दुसम्म आईपुगेको थियो। अहिले १३४९ को बिन्दुमा छ।

बैङ्किङ्ग पछि कम बढेको सेक्टर लाईफ इन्स्योरेन्स हो। लाईफ इन्स्योरेन्स सेक्टर आफ्नो बटम बाट ४९% मात्रै बढेको छ। २०७८ जेठबाट इन्स्योरेन्स सेक्टर घट्दो ट्रेन्डमा गएको देखिन्छ। २०७९ अशोजमा लाईफ इन्स्योरेन्स इन्डेक्स ८६०० को बिन्दुमा आईपुगेको थियो। लाईफ इन्स्योरेन्स सेक्टरले त्यहि बिन्दुमा बटम लगाएको देखिन्छ। अहिले लाईफ इन्स्योरेन्स इन्डेक्स १२९७६ को बिन्दुमा छ।

लाईफ इन्स्योरेन्स पछि कम बढेको सेक्टर माइक्रो फाइनान्स हो। यो सेक्टर बटम आउट भएको बिन्दुबाट ६०% मात्रै बढेको छ।

माइक्रो फाइनान्स पछि कम बढेको सेक्टर अदर्स हो। यो सेक्टरमा ६ वटा कम्पनीहरु सूचिकृत छन्। नेपाल दूरसंचार कम्पनी, रि इन्स्योरेन्स, हिमालयन रि इन्स्योरेन्स लगायतका कम्पनीहरु यो सेक्टरमा सूचिकृत छन्। यो सेक्टर न्यूनतम बिन्दुबाट ६१% मात्रै बढेको छ।

पाँचौं कम बढेको सेक्टर म्यानुफ्याक्चरिङ्ग हो। यो सेक्टर बटम आउट गरेको बिन्दुबाट ६५% बढेको छ।

त्यस्तै नन लाईफ ७९%, इन्भेष्टमेन्ट ९०%, विकास बैंक ९२%, हाइड्रोपावर १०३%, फाइनान्स ११५%, र ट्रेडिङ्ग १७७% बढेको देखिन्छ।

आजको सेयरबजार https://bajarkochirfar.com/this-time-the-analysis-shows-that-the-real-bull-in-the-stock-market-will-come-only-after-interest-rates-start-rising | %tags

नेप्सेमा सूचिकृत सबैभन्दा धेरै पूँजीकरण भएका बैंकिंग, हाइड्रो, माइक्रोफाइनान्स, अदर्स सेक्टर, इन्स्योरेन्स सेक्टर आफ्नो बटमबाट धेरै बढ्न सकेका छैनन्। हाइड्रोपावर र माइक्रो फाइनान्स सेक्टरका कम पूँजी भएका कम्पनीहरुको मूल्य उच्च रुपमा बढेको भए तापनि तुलनात्मक रुपमा बढी पूँजी भएका कम्पनीहरुको मूल्य बढ्न सकेको छैन। कम बढेका सेक्टरहरुमा बढ्ने ‘स्पेस’ धेरै नै बाँकी रहेको जानकारहरु बताउँछन्।

ब्याजदर बढ्न थालेपछि बजार बढ्ने विश्लेषण:
२०७९ अशोजको कुरा हो। मुद्दती निक्षेपको ब्याजदर १५ प्रतिशत भन्दा माथि पुगेको थियो। प्रभु बैंकले ३ महिना वा सो भन्दा बढीको प्रभु उन्नती मुद्दती नामक निक्षेप खातामा १५.१३ प्रतिशत ब्याजदर प्रकाशित गरेको थियो। प्रभुले रेमिट्यान्स निक्षेप खातामा यस्तो ब्याजदर दिने घोषणा गरेको थियो। तत्कालिन एनसीसी, सनराईज, प्राइम कमर्सियल लगायतका बैंकहरुले रेमिट निक्षेपमा १५% हाराहारीकै ब्याजदरको अफर गरेका थिए। त्यतिबेला सबै वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा १२.०३% ब्याज दिने सुचना प्रकाशित गरेका थिए। त्यो समय बैंकिंग प्रणालीमा तरलताको हाहाकार भएको अवस्था थियो।

सरकारको चालु खाता १०६ अर्ब ८ करोडले घाटामा थियो। महंगी अत्याधिक बढेको अवस्था थियो। मुद्रास्फीति ८.६४% थियो। शोधनान्तर स्थिती २३ अर्ब ६८ करोडले घाटामा थियो। निक्षेप सँगै कर्जाको ब्याजदर पनि उच्च रुपमा बढेको अवस्था थियो। वाणिज्य बैंकहरुमै कर्जाको ब्याजदर १७%-१८% प्रतिशत सम्म पुगेको अवस्था थियो त्यो।

बिस्तारै शोधनान्तर बचतमा जान थाल्यो। आयातमा उच्च गिरावट आउने र रेमिट्यान्स बढ्ने क्रम सुरु भएसँगै मुलुकबाट बाहिरिने पैसाभन्दा मुलुकमा भित्रिने पैसा बढ्न थाल्यो। बैंकिंग प्रणालीमा तरलता बढ्दै गयो। कर्जाको मागमा गिरावट आउन थाल्यो। बैंकहरुले निक्षेपको ब्याजदर घटाउन थाले। निक्षेपको ब्याजदर घटेसँगै बैंकहरुको बेस रेट पनि घट्दै गयो जसले कर्जाको ब्याजदर पनि घटायो।

विगत ३ महिनादेखि निक्षेपको ब्याजदर स्थिरजस्तै छ। कात्तिकमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ वाणिज्य बैंकहरुले अफर गरेको औसत ब्याजदर ६.३९% थियो भने संस्थागत तर्फ ५.१०% थियो। मङ्सिरमा बैंकहरुले ब्याजदर घटाए। मङ्सिरमा वाणिज्य बैंकहरुले अफर गरेको व्यक्तिगत मुद्दती तर्फको उच्चतम ब्याजदर ५.९७% थियो भने संस्थागत तर्फको ४.६४% थियो। पुषमा वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती तर्फ अफर गरेको अधिकतम ब्याजदरको औसत ६.०१% थियो भने संस्थागत तर्फको ४.५२% थियो। माघमा त्यस्तो ब्याजदर व्यतिगत तर्फ ६.००१% र संस्थागत तर्फ ४.५०% रहेको थियो। पछिल्लो ३ महिनाको ट्रेन्ड हेर्दा निक्षेपको ब्याजदर साइडवेज ट्रेन्डमा देखिन्छ।

राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको साउन देखि पुष सम्मको तथ्याङ्कलाई आधार मान्दा बैंक वित्तिय संस्थाहरुले निजी क्षेत्रमा प्रवाह गर्ने कर्जा बढेको छ। इम्पोर्ट लोन, वर्किङ्ग क्यापिटल लोन, टर्म लोन, मार्जिन लोन लगायतका शिर्षकहरुमा गएको कर्जा उल्लेख्य रुपमा बढेको छ। पछिल्लो समय केहि आर्थिक गतिविधि बढेको केहि आंकडा र तथ्याङ्कहरुले देखाएका छन्। बिस्तारै कर्जाको माग बढ्दै जाने अवस्था आउने हो भने त्यसले अर्थतन्त्र चलायमान हुँदै गएको ‘कन्फरमेसन’ दिनेछ। यसले बैंक वित्तिय संस्थाहरुको व्यापारमा सुधार आउनेछ भने मागको सिर्जना हुन गई समग्र उद्योग व्यवसाय नै फ़स्टाउन थाल्नेछन। अहिले बैंक वित्तिय संस्थाहरुबाट प्रवाह भएका साना तथा मझौला कर्जाहरुको भुक्तानीमा बढी समस्या देखिएको छ। अर्थतन्त्र चलयमान हुँदै जाँदा ती साना तथा मझौला व्यापारीहरु पनि बैंकको सावाँ ब्याज तिर्न सक्षम हुँदै जानेछन जसले बैंक वित्तिय संस्थाहरुको खराब कर्जा घटाउनेछ। बैंक वित्तिय संस्थाहरु अब चाहिँ तंग्रिन्छन है भन्ने भईसकेपछि ती सेक्टरका कम्पनीहरुको सेयर मूल्य बढ्ने। आम मान्छेको आम्दानी बढेपछि जग्गाको कारोबार बढ्नेछ, घरहरु बन्न थाल्नेछन, उद्योगी व्यापारीहरुको आम्दानीमा वृद्धि भएपछी सरकारको राजस्व पनि बढ्नेछ र सरकार बढी विकास खर्च गर्न सक्षम हुनेछ। यसले निर्माण क्षेत्रलाई गतिशील बनाउनेछ जसको प्रभाव सिमेन्ट कम्पनीहरुमा पर्नेछ। सिमेन्ट कम्पनीहरुको आम्दानी बढ्दा सिमेन्ट कम्पनीहरुको मूल्य पनि बढ्नेछ। बीमा क्षेत्रको अहिलेको समस्या भनेको नयाँ पोलिसी बिक्रि नहुनु र पुराना पनि सरेण्डर हुनु हो। अर्थतन्त्र चलायमान भएसंगै बीमा क्षेत्रको ब्यापार पनि बढ्नेछ जसले बीमा क्षेत्रको सेयर मूल्यमा पनि सकारात्मक माहोल सिर्जना गर्नेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर