सेबोनले मार्जिन लेण्डिङ, धितोपत्र सापटी र शर्ट सेलिङ भित्र्याउने प्रक्रिया अघि बढायो, अवधारणापत्र सार्वजनिक गर्दै माग्यो राय–सुझाव

सेबोनले मार्जिन लेण्डिङ, धितोपत्र सापटी र शर्ट सेलिङ भित्र्याउने प्रक्रिया अघि बढायो, अवधारणापत्र सार्वजनिक गर्दै माग्यो राय–सुझाव
Advertisement Ads

 नेपाल धितोपत्र बोर्ड (SEBON) ले नेपाली पूँजी बजारमा मार्जिन लेण्डिङ (Margin Lending), धितोपत्र उधारो तथा सापटी (Securities Lending and Borrowing–SLB) तथा शर्ट सेलिङ (Short Selling) जस्ता आधुनिक धितोपत्र वित्तीय सेवाहरू सञ्चालनमा ल्याउने तयारी थालेको छ। यसका लागि बोर्डले पहिलोपटक विस्तृत अवधारणापत्र (Consultation Paper) सार्वजनिक गर्दै सरोकारवालासँग राय–सुझाव मागेको हो।

बोर्डका अनुसार बजारको तयारी (Market Readiness) मूल्यांकन गर्न, आवश्यक नीतिगत, कानुनी, संरचनागत तथा प्राविधिक व्यवस्थाबारे छलफल अघि बढाउन र सम्बन्धित पक्षको सुझाव संकलन गर्न अवधारणापत्र सार्वजनिक गरिएको हो।

यो पहल नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटमा गरिएको इन्ट्राडे ट्रेडिङ, शर्ट सेलिङ र डेरिभेटिभजस्ता वित्तीय उपकरणहरू चरणबद्ध रूपमा सुरु गर्ने घोषणासँगै बोर्डले सार्वजनिक गरेको पूँजी बजार नीति तथा कार्यक्रमअनुसार अघि बढाइएको हो। बोर्डले मार्जिन लेण्डिङ, धितोपत्र उधारो तथा सापटी र शर्ट सेलिङ सञ्चालनका लागि आवश्यक कानुनी, संस्थागत तथा प्रक्रियागत संरचना तयार गर्ने नीति लिएको जनाएको छ।

बोर्डका अनुसार विश्वका विकसित पूँजी बजारमा मार्जिन कारोबार, धितोपत्र उधारो तथा सापटी तथा आवरणयुक्त शर्ट सेलिङ (Covered Short Selling) जस्ता सेवाले बजारलाई थप गहिरो, प्रतिस्पर्धी र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्। यही अभ्यासलाई ध्यानमा राख्दै नेपालको पूँजी बजारलाई आधुनिक, सुरक्षित, प्रतिस्पर्धी तथा अन्तर्राष्ट्रिय अभ्यासअनुरूप विकास गर्ने उद्देश्यले यी सेवाहरू चरणबद्ध रूपमा लागू गर्ने योजना अघि बढाइएको बोर्डले जनाएको छ।

बोर्डले सफल कार्यान्वयनका लागि स्पष्ट कानुनी आधार, सक्षम बजार पूर्वाधार, प्रभावकारी सूचना प्रविधि प्रणाली, सुदृढ जोखिम व्यवस्थापन तथा लगानीकर्ता संरक्षणका उपाय अपरिहार्य हुने उल्लेख गरेको छ।

अवधारणापत्रमा के समेटिएको छ?

बोर्डले अवधारणापत्रलाई चार मुख्य अध्यायमा विभाजन गरेको छ। जसमा—

नेपालको पूँजी बजारको वर्तमान अवस्था, संरचनात्मक विश्लेषण तथा सुधारको आवश्यकता,

अन्तर्राष्ट्रिय अनुभव, असल अभ्यास तथा नेपालका लागि प्रमुख सिकाइ,

नियामकीय प्रभाव विश्लेषण (Regulatory Impact Analysis),

नेपालका लागि उपयुक्त Margin Lending, Securities Lending and Borrowing (SLB) तथा Covered Short Selling मोडलसहित विशिष्टीकृत नीति सिफारिस समावेश गरिएको छ।

अवधारणापत्रमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (NEPSE), सिडिएस एण्ड क्लियरिङ लिमिटेड (CDSC), धितोपत्र दलाल व्यवसायी, धितोपत्र व्यापारी, बैंक तथा वित्तीय संस्था, संस्थागत लगानीकर्ता तथा अन्य सम्बन्धित निकायहरूको भूमिका स्पष्ट गरिएको छ। साथै कानुनी सुधार, नियामकीय पुनर्संरचना, बजार पूर्वाधार सुदृढीकरण, सूचना प्रविधिको आधुनिकीकरण, मानव स्रोत विकास, लगानीकर्ता शिक्षा तथा चरणबद्ध कार्यान्वयन रणनीतिलाई पनि अवधारणापत्रमा समेटिएको छ।

सुझाव माग्दै बोर्ड

बोर्डले अवधारणापत्रमाथि सरोकारवालाबाट प्राप्त हुने रचनात्मक सुझावका आधारमा मार्जिन लेण्डिङ नियमावली, धितोपत्र उधारो तथा सापटी नियमावली तथा आवरणयुक्त शर्ट सेलिङ नियमावली तर्जुमा गरी सार्वजनिक गर्ने जनाएको छ।

इच्छुक व्यक्ति तथा संस्थाले बोर्डको इमेल [email protected] मा आफ्ना सुझाव पठाउन सक्नेछन्।

बोर्डका अनुसार यी धितोपत्र वित्तीय सेवाहरू सफल रूपमा कार्यान्वयन भएपछि नेपाली पूँजी बजारमा तरलता वृद्धि हुने, बजारको स्थायित्व सुदृढ हुने, व्यक्तिगत तथा संस्थागत लगानीकर्ताको सहभागिता विस्तार हुने, नयाँ वित्तीय उपकरणहरूको प्रयोग बढ्ने तथा निजी क्षेत्रको दीर्घकालीन पूँजी परिचालनमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स